दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम लागु

दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम लागु

दैलेख : दैलेखमा स्वास्थ्य बीमा शुभाम्भ भएको छ । नारायण नगरपालिका–४ सोतका जेष्ठ नागरिक दानबहादुर कटुवालको परिवारबाट प्राप्त बीमा वापत योगदान रकम प्राप्त भएको आधारमा दर्ता कार्ड प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले आज एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । कार्यक्रममा नेकपाका कर्णाली प्रदेश सदस्य सूर्यबहादुर शाहीले सरकारले स्वास्थ्य बीमा सेवा सुरु गर्नु लोक कल्याणकारी दायित्व निर्वाह गरेको प्रष्ट्याए । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्वास्थ्य बीमा सेवामा सबैलाई सहभागी गराउन राजनीतिक दलहरु र समुदायको अग्रसरता जरुरी रहेको बताए ।
५३ औं जिल्लाको रुपमा सेवा सुरु गर्न आयोजित कार्यक्रममा दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको जनशक्ति, उपकरण र श्रोत बढाउन पर्ने आवश्यकता औल्याए । स्वास्थ्य बीमा सेवाको नीति, योजना र यसको औचित्य विषयमा स्वास्थ्य बीमा सेवा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रष्ट्याएका थिए ।
नागरिकहरुको स्वास्थ्य उपचारमा पहुँच अभिबृद्धि गर्न ४ वर्ष अघि कैलाली, बागलुङ र इलामबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम ५ जनासम्म भएको इच्छुक परिवारले ३५ सय रुपैंयाँ र त्यसभन्दा बढी प्रति सदस्य ७ सय रुपैंयाँको दरले योगदान रकम दिनुपर्ने हुन्छ । बीमा सदस्यमा दर्ता भएका परिवारका सदस्यहरुले एक लाख रुपैंयाँसम्म, ५ भन्दा बढी प्रति सदस्य २० हजार थप र अधिकतम् २ लाख रुपैंयाँसम्मको औषधि उपचार सुविधा पाउँदछन् । तर त्यो सुविधा लिन हरेक वर्ष सोही दररेटले बीमा नविकरण गर्नुपर्छ ।
स्वास्थ्य बीमा बोर्डको कर्णाली प्रदेश कार्यालय सुर्खेतले बीमा संकलन विधि, फाराममा भर्ने पारिवारिक विवरण, घरदैलोमा पुगेर बीमा सदस्यता रकमको रसिद भर्ने तरिका, बीमाको चक्र प्रणाली विषयमा दैलेखका ११ वटै स्थानीय तहका ९० वडामा नियुक्त दर्ता सहयोगीहरुलाई ३ दिने तालिम समापन कार्यक्रममा सोमवार बीमा सदस्यता शुभारम्भ गरिएको प्रदेश संयोजक अर्जुन पण्डितले जानकारी दिए ।

प्रतिक्रिया