गरिबीले नवजात शिशुको जाँच गर्न पाएनन्

गरिबीले नवजात शिशुको जाँच गर्न पाएनन्

मंगलवार जन्मिएको नवजात शिशु ।

दैलेख : चरम गरिबीका कारण जन्मजात समस्या देखिएको नवजात शिशुको स्वास्थ्य परीक्षण गर्न सकेका छैनन् । दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा निरञ्जन पन्तले फोटोको आधारमा नवजात शिशुलाई ‘कञ्जेनाइटल डिफेक्ट’ भएको बताएका छन् । टाउकोको पछिल्तिर दुई वटा झण्डै टाउको जत्रै ‘कञ्जेनाइटल’ भाग झुण्डिएको हेर्न आउनेको भीड हुने गरेकोले जन्म दिने आमा र परिवारजनले झनै खिन्नता महशुस गरेका छन् ।
भगवतीमाई गाउँपालिका–४ मन्घरकी २१ वर्षीया लक्ष्मी बिकले मंगलवार विहान ११ बजेतिर पहिलो सन्तानको रुपमा घरमै छोरीलाई जन्म दिएकी थिइन् । लक्ष्मीका श्रीमान २२ वर्षीय गोपाल बिक एक महिना अघि मात्र रोजगारीका लागि दुबई गएका छन् ।
वैदेशिक रोजगारीका लागि राहदानी निकाल्न, अन्तरवार्ता, मेडिकल गर्न र दुबई उडान समेत पटक पटक काठमाण्डौं आउजाउ गर्न २ लाख भन्दा बढी ऋण लागेको यसै बेला नवजात शिशुको उपचार गर्न ऋण खोज्दा नपाएको लक्ष्मीकी सासु रत्ना कामीले बताइन् । लक्ष्मीको घरमा दुई जना अमाजु, तीन जना नन्दहरु र सासु–ससुरा समेत नौ जनाको परिवार ससुरा डिलबहादुर कामीको दैनिक मजदूरीले जेनतेन खर्च धानिएको छ ।
नेपालगञ्ज वा काठमाण्डौंमा नसा रोग बिशेषज्ञ कहाँ पु¥याए मात्र उपचार हुने वा नहुने निश्चित गर्न सकिने सल्लाह पाइएको तर परिवारजनले ऋण खोजेर समेत नपाएको कारण उपचार प्रक्रियाको काम सुरु नभएको छिमेकी मिलन बिकले बताए । जगनाथ स्वास्थ्य चौकीमा गर्भवती भएदेखि ४ पटन नियमित रुपमा जचाएको तर मंगलवार अकस्मात् व्यथा लागेर तुरुन्तै बच्चा जन्मिएको कारण घरमै सुत्केरी गराइएको परिवारजन बताएका छन् । ज्वाला सन्देश अनलाइनसँग टेलिफोनमा कुरा गर्दै लक्ष्मीले नवजात शिशुको स्वास्थ्य अवस्था ठीक भएपनि आफूलाई तारन्तार पखाला लागेर हैरान भएको बताइन् ।

प्रतिक्रिया