सरसफाई सप्ताहको अबसरमा खुट्टाले चलाएर हात धुनमिल्ने धारा जडान

सरसफाई सप्ताहको अबसरमा खुट्टाले चलाएर हात धुनमिल्ने धारा जडान

दैलेख जेठ २८ गते ।
दैलेखको डुङ्गेश्वर गाउँपालिकाको विभिन्न पाँच स्थानमा खुट्टाको सहयोगले धारा खोली हात धुन मिल्ने प्रविधि सञ्चालनमा ल्याईएको छ । सरसफाई सप्ताहका अबसर पारेर कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न हातले नछोएर खुट्टाले धारा चलाएर हात धुन मिल्ने प्रविधिको धारा जडान गरिएको हो । हेल्भेटास नेपालको सहयोग, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले उक्त प्रविधिको धारा जडान गरेको हो । डुङ्गेश्वर गाउँपालिकाको कार्यालयमा उक्त प्रविधिको धारा जडान गरिएको छ । जडान गरिएको धारा गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ले उद्घाटन गरेका छन् ।
यस्तै डुङ्गेश्वर गाउँपालिका वडा नम्बर २ को स्वास्थ्य चौकी, वडा नम्बर ३ को वडा कार्यालय, वडा नम्बर ४ को वडा कार्यालय, र वडा नम्बर ६ माथिल्लो डुङ्गेश्वरको वडा कार्यालयमा जडान गरिएको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका जयबहादुर विस्टले बताए ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खुट्टाद्धारा खुल्ने धारा र त्यसमाथी ट्यांकी जडान गरिएको विस्टले बताए । शरीरको सबै भन्दा फोहोर वा संक्रमणहरु हातबाट सर्ने भएकोले प्रयोगकर्ताहरुलाई कोरोनाबाट जोगाउन उक्त प्रविधि प्रयोगमा ल्याईएको विष्टको भनाई छ । सरसफाई रहन भित्रिएको नयाँ प्रविधिले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया