दैलेखमा पीसीआर ल्याब उद्घाटन

दैलेखमा पीसीआर ल्याब उद्घाटन

पीसीआर ल्याब (प्रयोगशाला) उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत लगाएत ।
तस्विर : हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली
दैलेख असार १० गते ।
दैलेखमा पीसीआर ल्याब (प्रयोगशाला) स्थापना गरिएको । पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालय परिषरमा नयाँ भवन निर्माण गरेर ल्याब प्रयोगशाला स्थापना गरिएको हो । झण्डै एक करोड ३० लाख रुपैयाँको लागतमा ल्याब स्थापना भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट पीसीआर मेसिन खरिद गरिएको हो । निर्वाचन क्षेत्र नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगर्त दैलेख बजार– महाबु कालिकोट सडक खण्ड निर्माणका लागि ५ करोड ९४ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
उक्त सडक निर्माणका लागि नारायण नगरपालिकाबाट भएको टेन्डर प्रक्रियाबाट घटाघट हुँदा एक करोड ८ लाख, ८४ हजार ४ सय ४१ रुपैयाँ बचेको थियो । सोहि रकमबाट मेसिन खरिद गरिएको नारायण नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल नेपालीका अनुसार झण्डै एक करोड ६ लाख लागतमा मेसिन खरिद गरिएको हो ।
पीसीआर ल्याब प्रयोगशाला स्थापनाका लागि पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयबाट बजेट व्यवस्थापन गरिएको हो । कार्यालयबाट चालु आर्थीक बर्षमा सञ्चालित योजना र कर्मचारीको तलब भत्ताबाट बचेको रकम रकमान्तर गरेर भवन निर्माण गरिएको कार्यालयका निमित्त प्रमुख भीमबहादुर विष्टले बताए । विष्टका अनुसार २१ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।
पीसीआर मेसिन नहुँदा दैलेखमा संकलन गरिएको स्वाब परिक्षणका लागि प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनुपर्ने बाध्यता थियो । बुधवार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, प्रतिनीधि सभा सांसद रविन्द्रराज शर्मा, प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले प्रयोगशालाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रयोगशाला उद्घाटन गर्दै राज्यमन्त्री नवराज रावतले दैलेखमा स्थापना भएको पीसीआर ल्याबमा आवश्यक जनशक्ति र किटको अभाव हुन नदिने जनाए । ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको विशेष ध्यान गएको छ,’ राज्यमन्त्री रावतले भने ‘सरकारले कर्णालीलाई विशेष रुपमा हेरेको छ ।’
कोरोना परीक्षणमा ढिलाई भएपछि मेसिन खरिद गरिएको प्रतिनीधि सभा सदस्य एवं स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन समितिका संयोजक रविन्द्रराज शर्माले बताए । ‘सुर्खेत र जुम्ला प्रयोगशालाको भर परेर रिपोर्ट आउन हप्तौ कुर्नुपर्दा संक्रमण थप फैलने खतरा बढेकाले जिल्लामै प्रयोगशाला स्थापना गरेका हौ,’ सांसद शर्माले भने । प्रदेश सांसद अम्मरबहादुर थापाले ल्याबमा जनशक्ति अभाव हुने भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘केहि समयका लागि भनेर प्राविधिक टोली आउनुभएको छ, उहाँहरु फर्किनुभयो भने ल्याब बन्द हुने पक्कापक्की छ, त्यस तर्फ सरकारको बेलैमा ध्यान जानुपर्छ’ थापाले भने ।
प्रयोगशाला सञ्चालनका लागि ६ जना प्राविधिकको टोली आईसकेको छ । प्रयोगशालामा आवश्यक उपकरणहरु जडान थालिएको ल्याब इन्चार्ज शंकर शाहीले बताए । ‘भोलीसम्म उपकरणहरु जडान गरेर सक्छौ, अबको दुई दिनभित्र परिक्षण सुरु हुन्छ,’ शाहीले भने ‘यहाँ गरिएको परिक्षणको पाँच वटा नमुना पुनः परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा पठाउँछौ,’ दुवै ठाउँमा गरिएको परिक्षणमा एउटै रिपोर्ट आएपछि मात्रै आम नागरिकहरुको परिक्षण गरिनेछ ।’ दैलेखमा कोरोना संक्रमितको संख्या दिनुहँ बढ्दो छ । हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ छ ।

प्रतिक्रिया