संकटमा सोसेकका सहयोग महत्वपूर्ण : नगरप्रमुख भण्डारी

संकटमा सोसेकका सहयोग महत्वपूर्ण : नगरप्रमुख भण्डारी

दैलेख भदौ १८ गते ।
जिल्लाको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले संकटको समयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । कोरोना भाइरसको महामारीमा संस्थाले राहत वितरण, स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग उपलब्ध गराएको नगरप्रमुख भण्डारीले उल्लेख गर्नुभयो । बिहीवार दुल्लुमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिबृद्धि (उत्थान) परियोजनाको अर्धबार्षिक प्रगति समिक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले सहकार्यबाटै संकट टार्न सकिने बताउनुभएको छ ।
दुल्लु नगरपालिका, युरोपेली युनियन (इयु) को, डिसिए नेपाल, लिवर्ड, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको सहयोग तथा समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा आयोजित कार्यक्रममा नगरपालिकाका उपप्रमुख विष्णु थापाले सकारात्मक कार्यका लागि आफुहरु सधै संस्थाको साथमा रहेको बताउनुभयो । सोहि अबसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीले संस्थाले कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । कार्यवहाक अध्यक्ष जैसीले स्थानीय तहहरुसँग हातेमालो गर्दैै सामाजिक कार्यलाई प्रभावकारी बनाउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपाल, वडाध्यक्षहरु नयाराम थापा, लछिराम थापा, कलम बहादुर खनाल, भरत प्रसाद उपाध्याय लगाएत उपस्थिती रहेको कार्यक्रम परियोजनाका सामुदायिक विकास सहजकर्ता मानबहादुर थापाले सञ्चालन गरेका गर्नुभएको थियो । कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले उत्थान परियोजना मार्फत अर्धबार्षिक रुपमा सञ्चालन भएका गतिवीधि तथा कोरोना भाइरसको महामारीमा परियोजनाबाट गरिएको सहयोगबारे जानकारी गराउनुभयो ।
दुल्लु नगरपालिकामा युरोपेली युनियन (इयु) को आर्थिक सहयोगमा डिसिए नेपाल, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, लिवर्ड, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुर गरी चारवटा संस्थाहरुको साझेदारीमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिबृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

प्रतिक्रिया