टाले पनि टालिन्नन् ती च्यात्तिएका ठाउँहरू

मुख थुनेर, घाँटी न्याँकेर,
लछारपछार पारेर, शरीरभित्र बान्ता गरेर
कुमारी आमा बनाएर,
कलंकको कालो टीका लगाएर,
मर्नु न बाँँच्नु बनाएर,
पुरुषार्थ देखाएको भ्रममा
तँँ खुलेआम हिंड्छस्
तर ए बलात्कारी
तँँलाई थाहा छ ?
तेरो पाशविकताबाट उम्किन नसक्दा
तेरो कुकृत्यको परिणाम,
बिनाबाउको सन्तान कहलिन्छे
तेरै बान्ताबाट जन्मिएकी एउटी नाबालिक
आँखामा कालो पट्टी बाँधेर
टोपी लुकाइको झेली खेल खेल्छ कोही
अनि,
झेलसाँजीको विजयोल्लासमा,
स्याम्पियन खोल्छ र अट्टहास हाँस्छ अपराधी ।
र,
उता निरीह कुमारी कि हुन्छे कलङ्किनी,
कि हुन्छे एक्ली र बेघर,
कि रोज्छे शरीरदाहको बाटो ।
आनन्द त क्षणिक हो,
कसैको मुख थुनेर लुटेको आनन्द
तैँँले बान्ता गरी नसक्दै तत्क्षण देहावसान हुन्छ
वर्तमानकै समय वर्तमानकै आनन्द
भूतकालमा परिणत भैदिन्छ ।
तैपनि,
सुन्दर फूल फुलेको देख्न नसक्ने,
सुन्दरता हाँँसेको देख्न नसक्ने,
मयूरझैँ नाचेको देख्न नसक्ने,
कस्तो विकृत मनोगति हो तेरो ?
ए प्रकृति ,
यौनाङ्गहरू नारी शरीरमा भिराइदिएर
कस्तो बनोट दियौ नि नारीलाई
आफ्नै अस्मिता जोगाउन असक्षम छन उनीहरू ।
जहाँजहाँ लोग्ने मान्छे
त्यहाँत्यहाँ बलात्कार
जहाँजहाा नारी अस्तित्व
त्यहाँत्यहाँ नारी शिकार ।
नारीको साटो लोग्ने मानिसको शरीरमा
नारीलाइ भिराएका यौनांग भिराइदिएककी भए
ए प्रकृति, तिम्रो के जान्थ्यो भन त ?
होइन भने भन ,
कहिलेसम्म हुन्छ पाशविकतामा नारी बलात्कार
जबर्जस्ती च्यातिएपछि कुर्ता र सुरुवाल,
जबर्जस्ती थुतिएपछि साडी र चोलो,
टाले पनि टालिन्नन ती च्यात्तिएका ठाउँहरू,
निको भए पनि निको हुँदैनन् कोतरेका घाउहरू ।
ए विकृत पिपासु
के देख्छस् नौ महिने बालिकाको शरीरमा
के देख्छस् जवान स्त्रीको शरीरमा
के देख्छस् चाउरी परेकी आमाको शरीरमा
जो तेरै छोरी जस्ती छिन्
जो तेरै दिदीबहिनी जस्ती छिन्
जो तेरै आमाहजुरआमा जस्तै छिन् ।
प्रतिक्रिया