करिश्मा महानायिकाको पदवी

करिश्मा महानायिकाको पदवी

काठमाडौं : आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा नायिका करिश्मा मानन्धरलाई महानायिकाको पदवी दिएको छ। स्मरण रहोस्, एक दशकअघि आरके इन्टरटेनमेन्ट समूहले नायक राजेश हमाललाई महानायक घोषणा गरेको थियो। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाललगायतले महानायिका देखिने स्यासे र क्राउन लगाइदिएका थिए। नेपाली रजतपटमा तीन दशकदेखि छाएकी करिश्माले २०४५ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रूपमा डेब्यु गरेकी थिइन्। कार्यक्रममा केही ख्यातिप्राप्त व्यक्तित्वहरूलाई सम्मान प्रदान पनि गरिएको थियो। कलाकार नीर शाह, लोडसेडिङ हटाउने कुलमान घिसिङ, गीतकार डा. भोला रिजाल, गीतकार मीनसगर लामालगायतका व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको थियो। सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङ, महानायक राजेश हमाल र मिस ग्रान्ड नेपाल उरुषा जोशीले सम्मान गरेका थिए। 

साथै कार्यक्रममा आरके इन्टरटेनमेन्टले आयोजना गरेको अनलाइन ग्य्रान्ड सिङगिङ आइडल तथा साल यु डान्स कार्यक्रमका विजेतालाई पनि अवार्ड वितरण गरियो। सिङगिङ आइडलका विजेता मोनिका तामाङ, फस्ट रनरअप सुमिरन हुमागाईं भए भने सेकेन्ड रनरअप मिनिशा तामाङ भएकी थिइन्।  त्यस्तै, जुनियरतर्फ सुमिका शरद विजेता तथा आशिका गौतम फस्टरनर अप  भए। त्यस्तै नृत्य प्रतिस्पर्धाका विजेता अभिमा तामाङलगायतलाई पनि अवार्ड प्रदान गरियो। आरके इन्टरटेनमेन्टका प्रमुख राम केसीले आगामी दिनमा अन्य प्रतिभालाई सम्मान गरिने बताए।  

प्रतिक्रिया