कोरोना संक्रमणका कारण जिल्ला प्रशासनको सेवा बन्द

कोरोना संक्रमणका कारण जिल्ला  प्रशासनको सेवा बन्द


दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय दैलेखको सेवा प्रवाह बन्द गरिएको छ । प्रशासनले बुधवार विहान एक सूचना जारी गर्दै सेवा प्रवाह बन्द गरिएको जानकारी दिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिए ।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरस नेपालमा समेत फैलिएको र मानवीय क्षती भईरहेको अवस्थामा दैलेखमा पनि संक्रमण तिब्र रुपमा बढिरहेको हुँदान संक्रमणलाई थप फैलिन नदिन सेवा प्रवाह बन्द भएको देवकोटाले बताए । शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्धा बाहेक जिल्ला प्रशासन कार्यालय दैलेखबाट प्रवाह गरिने नियमित सेवा प्रवाह अर्को सूचना जारी नहुँदासम्म बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाको भनाई छ ।
केहि महिना अघिसम्म कोरोना भाइरस संक्रमितको संख्या शुन्य रहेको दैलेख जिल्लामा हाल दिनहुँजसो संक्रमितहरुको संख्या थपिँदै गएको छ । भारत लगायतका मुलुकहरुमा बढी प्रभाव पारेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट तिब्र गति फैलिईरहेको छ । संक्रमणबाट बच्न भारतबाट जन्मथलो फर्किने नागरिकहरुको संख्या उच्च छ । स्थानीय प्रशासनले जिल्लाभित्रको आन्तरिक आवागमन, विवाह, ब्रतबन्ध तथा चाडपर्व लगायतमा जनस्वास्थ्यका मापदण्डहरु पालनामा कडाई गर्न नसक्दा र नागरिकहरुको हेलचक्राईका कारण संक्रमण थप जोखिमपूर्ण हुँदै गएको छ ।

प्रतिक्रिया