स्रष्टा लक्षमण नेपाली सम्मानित

स्रष्टा लक्षमण नेपाली सम्मानित

दैलेख : स्रष्टा लक्षमण नेपालीलाई सम्मान गरिएको छ । ९ बर्षको हुँदा बाँसुरी बजाउन थालेका लक्षमणले ७ दशकदेखि बर्षेमेला अर्थात श्रीकृष्ण जन्माष्टमीमा बाँसुरी र तम्मर बजाउँदै आएका छन् । उनलाई न्यू ज्वाला क्लबले  ‘लाइफ टाइम अचिभमेन्ट‘ अवार्डबाट सम्मान गरेको छ । सोमवार स्थानीय लोकतान्त्रीक चोकमा आयोजित विशेष समारोहमा लक्षमणले पु¥याएको योगदानको कदर गर्दै क्लबले ११ हजार एक सय ११ रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको छ । प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले दोसल्ला ओडाई सम्मान पत्र र रकम प्रदान गरेका छन् । सम्मान समारोहमा सहभागिहरुले समेत उनलाई दोसल्ला र पुष्पगुच्छाले सम्मान गरेका थिए ।

कला संस्कृति सम्र्बद्धन तथा प्रर्वद्धन मात्र नभई पुस्तान्तरणमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको क्लबका अध्यक्ष विशाल सुनारले बताए । झण्डै ३ दशकदेखि लक्षमणलाई नजिकबाट नियालीरहेका क्लबका अध्यक्ष सुनार भन्छन् ‘उहाँ कहिल्यै थाक्नुभएन्, हिच्कीचाउनुभएन्, संकोच मान्नुभएन्, कहिल्यै यो वा त्यो चाहियो भन्नुभएन्, आफ्नो बुबाको पुस्तादेखि नातीको पुस्तासम्मकालाई आफ्नो बाँसुरीको धुनमा सवारी, त्रिताल, भोटेसेलो, झाम्रे देखि तीजका भाका, कृष्ण लिला टाकटुकेमा नचाउनुभयो, सांस्कृतिक पर्व बर्षेमेला अर्थात श्रीकृष्ण जन्माष्टमीमा उहाँको योगदान अतुलनीय छ ।’

सम्मान समारोहमा प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले जीवनभर जिल्लाको सामाजिक र सांस्कृतिक परम्पराहरुलाई धान्न अनवरत खटिनुभएका लक्षमणको प्रसंशा गरे । ‘जीवनभर बाँसुरीको साधान गरेर कला संस्कृतिको गरिमालाई सधैँ उच्च राख्न तल्लिन रहनुभएका लक्षमण जस्ता व्यक्तित्वको उचित सम्मान हुनुपर्छ,’ शर्मा भन्छन् ‘उहाँ जिल्लाकै सम्मानीत, अग्रणी र प्रेरणाको स्रोत हुनुहुन्छ, उहाँसँग भएको कलालाई सबैले सिरोधार्य गर्नुपर्छ ।’

विस २००१ माघ १६ गते नारायण नगरपालिका–१ पुरानो बजारस्थित गोलबजारमा जन्मिएका लक्षमण बाल्यकालदेखि नै बाँसुरी र तम्मर बजाउने उद्भुत कलाकै कारण हरेक बर्षको बर्षेमेलामा केन्द्रमै रहिरहेका छन् । मेला भर्न आउनेहरुको ध्यान लक्षमण र उनको बाँसुरीमै पर्छ । उनको कलाकै कारण समाजका अगुवाहरुको रोजाईमा परिरहे । स्थानीय मौलिक लोकभाका मात्र होइन, भजन, आधुनिक, हिन्दी गीतहरुमा समेत बाँसुरीको धुन बजाउने लक्षमणको कलाले मेलालाई विशेष बनाईरह्यो । पछिल्लो समय स्वास्थ्य समस्याले थलिएका लक्षमणको अनुपस्थितीमा बर्षेमेला अधुरो र अपुरो बनेको युवाहरु बताउँछन् ।

 

प्रतिक्रिया