बालिका बलात्कार गर्नेलाई जन्मकैद

बालिका बलात्कार गर्नेलाई जन्मकैद


दैलेख : दैलेख जिल्ला अदालतले पाँच बर्षीया बालिकालाई बलात्कार गर्ने अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । बालिकालाई बलात्कार गरेको अभियोगमा नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर बिकलाई अदालतले जन्मकैद (२५ वर्ष) को फैसला सुनाएको हो । अदालतले जन्मकैद संगै ६ लाख जरिवाना, एक लाख पीडितलाई क्षतिपूति र २८ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए । मागदावी अनुसार सजाय मनासिव देखिएकोले पेशीकै दिन फैसला भएको श्रेस्तेदार कार्कीले बताए ।

पाँच बर्षकी नाबालिकलाई बलात्कार गरेको गम्भीर घटना भएको कारण सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले अभियोगमा गरिएको मागदावी अनुसारकै जन्मकैद सजायको जिकीर सहित पीडित बालिकाको पक्षबाट बहस गरेका थिए । २०७७ पुस १७ गते बालिकालाई बलात्कार गरेको भन्ने आरोपमा पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले सोहि दिन बिकलाई पक्राउ गरेको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भएको थियो । बलात्कार घटनामा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय मार्फत माघ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेश गरेको थियो । थुनछेक बहसपछि कसूरदारलाई माघ १३ गते पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको थियो ।

मुलुकी अपराध सहिंता २०७४ अनुसार जन्मकैद २५ वर्ष पु¥याइएको छ । कर्तव्यज्यान, गम्भीर प्रकृति बलात्कार, दंगा गरेर नरसंहार जस्ता जघन्य अपराधमा जन्मकैद हुनसक्ने कानूनी व्यवस्था छ । अहिलेको अपराध सहिंता भन्दा पहिले मुलुकी ऐन २०२० ले जन्मकैद २० वर्ष तोकेको थियो । वारदात भएको समय अनुसार जन्मकैद ठहरेका पुराना मुद्दामा २० वर्ष नै कैद हुने गरेको छ ।

प्रतिक्रिया