घरमै विद्यालय

घरमै विद्यालय

दैलेख : गुराँस गाउँपालिका–३ का बिरबहादुर बुढा अहिले १५ बर्षका भए । उनि बहुअपाङ्गता भई जन्मिएका थिए । उनको माथिल्लो ओठ जन्मेदेखिनै फाटेकोले उनको बोलीमा स्पष्टता छैन् । उनि शारिरीक रुपमा पनि कमजोर छन् । केहि बर्षअघि उनलाई घरपरिवारले नजिकैको सामुदायिक स्कुलमा कक्षा एकमा भर्ना गरिदिए । तर, शारिरीक कमजोरीका कारण ३० मिनेटको दुरीमा रहेको स्कुल पुग्नपनि उनलाई धौ धौ पर्न थाल्यो ।

स्कुल गएपनि उनका अन्य साथीहरुले जिस्क्याउँथे । उनका अन्य साथीहरु सरह सिक्न नसक्ने भएकाले उनले स्कुल जानै छाडिदिए । त्यसयता उनलाई घरमै पढाउन थालियो । घरमै विद्यालय कार्यक्रम अन्तरगर्त सहजकर्ताको सहयोगमा बिरबहादुरले घरमै पढ्न थाले । घरमै अध्ययन गरेका बिरबहादुर अहिले स्कुलमा अब्बल कहलिएका छन् । उनि गत बर्ष दुर्गादेवी मावीमा कक्षा २ मा तृतिय श्रेणीमा उतिर्ण भए ।

बीरबहादुर जस्तै गुराँस गाउँपालिका–६ शेरबहादुर नेपाली उमेरले ८ बर्ष पुगे । उनि आदर्श प्रावीका कक्षा एकमा अध्ययनरत छन् । जन्मजात नै बहुपाङ्गता भएर जन्मिएका शेरबहादुर पनि घरमै विद्यालय अन्तरगर्त घरमै अध्ययन गरिरहेका बालक हुन् । बीरबहादुर र शेरबहादुर जस्तै गुराँस गाउँपालिकाका ५ जना बालबालिका घरमै अध्ययन गरिरहेका छन् ।

सबै बालबालिकाहरुलाई अनिवार्य तथा निशुल्क शिक्षाका लागि विद्यालयमा पहुँच पु¥याउने उदेश्य राखिएको कार्यक्रम अन्तरगर्त गुराँस गाउँपालिका–२ का १५ बर्षीय इन्द्रबहादुर नेपाली, वडा नम्बर ५ का १२ बर्षीय नविन चन्द र वडा नम्बर ४ का १४ बर्षीय मिलन रसाइली घरमै अध्ययन गरिरहेका छन् । बहुअपाङ्गता भएका तीनै जना क्रमशः कक्षा ४, ३ र १ मा अध्ययनरत छन् । इन्द्रबहादुर विपी आधारभुत विद्यालय, नविन कृष्ण आधारभुत विद्यालय र मिलन बुद्ध आधारभुत विद्यालय दोबाटोमा अध्ययनरत छन् ।

उनिहरुलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले सहयोग गरिरहेको छ । उनिहरुलाई घरमै अध्ययन गर्नका लागि सहजिकरण गर्न एक/एक जना सहजकर्ता खटाईएको परियोजनाका शिक्षा संयोजक उपेन्द्र रावलले बताए । सहजकर्ताले दैनिक ४ घण्टा पढाउने गरेको रावलले बताए । घरमै अध्ययन गरिरहेका बालबालिकालाई बाल मैत्री सामग्रीहरु, कार्पेट, पिफर्म लगाएतका शैक्षिक सामग्रीहरु सहयोग भईरहेको छ ।

परियोजनाले गाउँपालिकासँग समन्वय गरेर सुरुमा ७ जना बालबालिकालाई घरमै पढाउन थालिएको थियो । एक जनाको मृत्यु भएको र एक जना १८ बर्ष उमेर पुरा अहिले ५ जना बालबालिकाहरुले घरमै बसेर अध्ययन गरिरहेको रावलले जानकारी दिए ।

अपाङ्गता भएका बालबालिका जो, विद्यालयसम्म पुग्न सक्दैनन, उनिहरुको आधारभुत शिक्षाको पहुँच अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिएको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बिसीले बताए । सहयात्रा दोस्रो परियोजनाले गुराँस गाउँपालिकामा शिक्षा, बाल संरक्षण र बाल अधिकार शासनका लागि सन २०१९ देखि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको बिसीको भनाई छ ।

प्रतिक्रिया