जुम्लामा मतपेटिका सदरमुकाम सम्म ल्याउन हेलिकप्टर माग

जुम्लामा मतपेटिका सदरमुकाम सम्म ल्याउन हेलिकप्टर माग

फाइल तस्बीर

जुम्ला : वैशाख ३० गते हुने स्थानयि तह निर्वाचनका लागि जुम्लामा हेलिकप्टर माग गरिएको छ ।  जिल्लाका अति संवेदनशील मतदान स्थलका मतपेटिका सदरमुकाम सम्म ल्याउन हेलिकप्टरको माग गरिएको हो । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७९ वटा मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको छ।

जस मध्ये ४१ वटा मतदान स्थल अति संवेदनशील छन् । जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले सुरक्षाको दृष्टिकोणबाट ७९ मतदान स्थलहरू मध्ये ४१ ओटा मतदान स्थललाई अति संवेदनशील, १५ ओटा मतदान स्थललाई संवेदनशील र २३ ओटा मतदान स्थल सामान्य रहेको बताए ।

उनले यसलाई सुरक्षाको कसरी प्रवन्ध मिलाउने भन्ने बिषयमा तयारी भईसकेको बताएका छन् । यति मात्र होईन दूरीको हिसावले टाढा भएको तिला गाउँपालिकाको खोप्री सहित चार स्थान निकै टाढा रहेका छन् ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंका अनुसार सुरक्षा निकायलाई मतदान गरेर सकाउन मात्रै चिन्ता छैन । मतदान पछि स्थानीय तहको निर्वाचन कार्यालयमा मतपेटिका पुर्याउने, गणना सहित अन्तिम कार्यसम्म सुरक्षा प्रबन्धको बिषयमा जिल्ला सुरक्षा समितिले योजना बनाएको बताइन् ।

तर, ५ देखि ७ घण्टा लाग्ने खोप्रीबाट मतपेटिका ल्याउन हेलिकोप्टर आवश्यक देखिएको छ। प्रजिअ प्रसाईंले जिल्ला स्थित राजनैतिक दलहरूको निर्वाचन स्वच्छ र भयरहित बनाउने बिषयमा बैठकमा खोप्री जस्ता जोखिम स्थानका लागि हेलिकप्टरको पहल गर्न राजनैतिक दलको तर्फबाट पनि पहल गर्न अनुरोध गरिन्।

उनले प्रदेश स्तरीय बैठकमा समेत खोप्रीमा हेलिकोप्टरको आवश्यक रहेको जानकारी दिएकी छन्।

त्यस्तै प्रहरी नायव उपरीक्षक चन्दका अनुसार तिला गाउँपालिका ९ स्थित नैनादेवी आधारभूत विद्यालय खोप्रीमा माने चौरबाट हिँडेर ६ देखि ७ घण्टा लाग्ने छ। त्यहाँबाट मतपेटिका तिलामा ल्याई पुग्न करिब ८ देखि ९ घण्टा लाग्ने भएकाले ध्यान दिन जरुरी रहेको छ।

तिला ९ कै ज्योति मा।वि राँसामालापानी र प्रस्तावित मा.वि. ढिपु पनि करिब तिला गाउँपालिकाबाट ६ घण्टा टाढा रहेको छ। यस्तै कनकासुन्दरीको मर्फानमा कनकासुन्दरीबाट ३ घण्टा लाग्ने अनुमान गरिएको छ।

जिल्लाभरमा मतगणनास्थल वा पालिका केन्द्रमा १ देखि ३ घण्टा लाग्ने धेरै स्थान छन्, तर तिला ९ खोप्रीको नदैदेवी आधारभूत विद्यालयको मतदान केन्द्र जिल्लाकै सबैभन्दा टाढा रहेको छ।

प्रतिक्रिया