एकीकृत समाजवादीका केन्द्रीय सदस्य सहित प्रदेश कमिटी सदस्य एमालेमा

एकीकृत समाजवादीका केन्द्रीय सदस्य सहित प्रदेश कमिटी सदस्य एमालेमा

दैलेख : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला सह(इन्चार्ज तर्कबहादुर शाही एमालेमा प्रवेश गरेका छन्। शाहीले आइतबार विज्ञप्ति जारी गर्दै आफू एमालेमै फर्किएको उल्लेख गरेका छन् ।

उनले अहिलेको गठबन्धन सत्ताका लुछाचुँडीका लागि मात्र भएको उल्लेख गर्दै आफूले समाजवादी पार्टी परित्याग गरेको बताएका छन् । गठबन्धन प्रतिगमनका विरुद्ध नभई सत्ताको लुछाचुँडीका लागि मात्र बनेको शाहीले बताएका छन्।

उनले गठबन्धनको भरेङ चढेर गुमेको सत्ता पुनः प्राप्तिको खेलमा लागेको नेपाली कांग्रेसको नेतृत्वले आफ्ना इमानदार कार्यकर्तालाई जबाफ दिन नसकेको बताए। उग्र वामपन्थ भड्कावबाट उत्पत्ति भएको नेकपा माओवादी केन्द्र गठबन्धनको सहारामा खिइँदै गएको आफ्नो अस्तित्व जोगाउन कांग्रेस रूपी गाईको पुच्छर समातेर वैतरणी पार गर्न खोजेको उनले विज्ञप्तिमा भनेका छन्।

शाहीले बिना कारण पार्टी फुटाउने र अप्राकृतिक गठबन्धन गरेर आफू सत्तामा जान र टिकी राख्न गरिने सम्पूर्ण कार्य जनविरोधी भएको बताएका छन्।

लोकतन्त्रभित्रका फरक फरक विचारलाई कमजोर पार्ने र एक मात्र बलियो पार्टी नेकपा एमालेलाई फोड्ने खेललाई अस्वीकार गर्दै एमालेमा फर्किने निधो गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

यस्तै एकीकृत समाजवादी पार्टीका राष्ट्रिय पार्षद एवं प्रदेश कमिटी सदस्य सुस्मिता सिंह पनि एमालेमा प्रवेश गरेकी छन् । सिंह ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट ठाँटिकाँध गाउँपालिकाकी उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया