बस दुर्घटना हुनुको मुख्य कारण क्षमताभन्दा धेरै यात्रु

बस दुर्घटना हुनुको मुख्य कारण क्षमताभन्दा धेरै यात्रु


सुर्खेत : बुधवार मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ३९ जना घाइते भएका छन् ।

बुधबार मुगुबाट नेपालगंज जाँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठविस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटना भएर कर्णालीमा खसेको थियो । दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का करिब ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशीराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बसमा ६२ जना यात्रु सवार थिए । तीमध्ये ३९ जना घाइते रहेको प्रहरीले जनाएको छ।

घाइतेहरु सबैलाई राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार बस कर्णाली राजमार्गबाट ४० मिटर तल कर्णाली नदीको किनारमा खसेको छ ।

क्षमताभन्दा बढी यात्रु भएर दुर्घटना

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुई जना गम्भीर घाइते र अन्यको अवस्था सामान्य रहेको छ । दुर्घटनाको कारण ओभरलोड भएर हुन सक्ने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद शाहले बताए । ‘गाडी चालकले ब्रेक फेल भएर दुर्घटना भएको बताएको छ तर, गाडीमा क्षमताभन्दा बढी यात्रुहरु राखिएको पाइयो,’ उनले भने, ‘प्रहरीको चेक प्वाइन्टमा ३५ जना मात्र यात्रु रहेका थिए तर, बीच बाटोमा यात्रु थप्दै जाँदा धेरै यात्रु भएछन् ।’

क्षमताभन्दा बढी यात्रु नराख्ने भनेर प्रहरीको चेक प्वाइन्टमा चेक हुनुको साथै प्रहरीले सचेत गराउने गरेतापनि नागरिकहरु लुकीछिपि बीच बाटोमै गाडी चढ्ने कारण पनि दुर्घटना निम्तिने गरेको शाहले बताए ।

प्रतिक्रिया