दौडिने बानीले मस्तिष्कलाई के-के फाइदा गर्छ ?

दौडिने बानीले मस्तिष्कलाई के-के फाइदा गर्छ ?

काठमाडौँ :  एउटा अमेरिकी अध्ययनले २० देखि ३० वर्षको उमेरमा नियमित दौडने लगायतका व्यायाम गरे त्यसपछिका थुप्रै वर्षसम्म मानिसहरुको मस्तिष्कलाई स्वस्थ राख्न सहयोग पुर्याउने देखाएको छ।

मुटुलाई तन्दरुस्त राख्ने व्यायामहरु जस्तै दौडने , साइकल चलाउने र पौडने गर्दा २० वर्षसम्म पनि त्यसले सोच्ने शैली र स्मरण शक्तिलाई फाइदा पुर्याउने ठानिएको छ।

न्यरोलोजी नामक जर्नलमा प्रकाशित अनुसन्धानले मुटुको स्वास्थ्य राम्रो भए मस्तिष्कलाई पनि त्यसले फाइदा पुर्याउने प्रमाणलाई बल पुर्याएको वैज्ञानिकहरुले बताएका छन्।

व्यायामका दौरान शरीरले कति राम्रो ढंगले अक्सिजन लिन सक्छ र मांसपेशीहरुमा सञ्चार गर्न सक्छ, त्यसैले मुटुको तन्दुरुस्ती निर्धारण गर्छ।

मिन्नेसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले औसतमा २५ वर्ष उमेर भएका ३ हजार स्वस्थ मानिसहरुमा यो परीक्षण गरेका थिए।

उनीहरुले अध्ययनको पहिलो वर्ष दौडन मिल्ने एक खालको मेसिन ट्रिडमिलमा मानिसहरुलाई दौडाएर परीक्षण गरेका थिए । २० वर्षपछि त्यो प्रक्रिया फेरि दोहोर्याएर तुलना गरेका थिए।

ती मानिसहरुलाई सास लिन अप्ठ्यारो हुनुअघि सम्म जति दौडन सकिन्छ त्यति दौडिन भनिएको थियो ।

अध्ययन सुरु भएको २५ वर्षपछि उनीहरुको स्मरण शक्ति र सोच्ने शैली मापन गर्न ज्ञानसम्बन्धी परीक्षणहरु पनि लिइएको थियो।

धूमपान ,उच्च कोलेस्टोरेल तथा मधुमेह जस्ता पक्षलाई पनि समेट्दा समेत ट्रिडमिलमा लामो समयसम्म दौडने मानिसले स्मरणशक्ति र सोच्ने शैलीसम्बन्धी परीक्षणहरुमा राम्रो गरेको देखिएको छ।

पूर्ण तन्दुरुस्ती
अध्ययनका लेखक डा. डेभिड ज्याकोब्सले भने, “धेरै अध्ययनहरुले मुटु स्वस्थ भए त्यसले मस्तिष्कलाई फाइदा पुर्याउने देखाएका छन्।“

“यो एउटा महत्वपूर्ण अध्ययन हो जसले युवाहरुलाई के कुरा सम्झाएको छ भने दौडने, पौडी खेल्ने, साइकल चलाउने तथा मुटुस्वस्थ राख्ने अन्य उपायहरुले मस्तिष्कलाई फाइदा पुर्याउंछ।“

डा. ज्याकोब्सले स्वास्थ्यको सामाजिक, भौतिक तथा मानसिक पक्षहरुलाई समेट्ने पूर्ण तन्दुरुस्तीको अवधारणा विकास भएको पनि बताए।

अल्जाइमर्स समाजकी एक जना प्रवक्ताले भनेकी छन् ,”ज्ञान तथा स्मरण शक्ति घट्ने खतरालाई नियमित व्यायामले कम गर्ने दरो प्रमाणहरु देखिएका छन्।“ बिबिसी

प्रतिक्रिया