सारङ्गीसँगको साइनो !

सारङ्गीसँगको साइनो !

सारङ्गीको मधुर धुन र मिठो स्वर सुनेपछि मेरो मन अर्कौ तिर मोडियो । म कोठाबाट बाहिर निस्किए । ‘आज भेट ईश्वरको दयाले, फेरी भेट हजुरको मायाले’ भन्ने शब्द र लयमा एकजना दाई साँरगी रेटि रहेका थिए ।

उनीसँग मेरो चिनजान धेरै पुरानो थियो । सारङ्गी रेटेर गाउँमा गित गाउँदै गर्दा उनलाई धेरै पटक भेटेको छु । उनका गीत सुनेको छु । लामो समयपछि भेट हुदाँ मान्छे चिने चिने जस्तो लाग्यो तर नाम थाहा थिएन् । बाल्यकालमा उनीसँग भएका भेटहरु मलाई ताजै थिए । कालो वर्णका परिमल सारँगी रेट्दै गित सुनाउन सुरु गरेपछि जुन जस्तै उज्याला देखिन्थे ।

निर्मल अधिकारी

भगवतीमाई गाउँपालिका वडा नं ४ को मन्घरमा जन्मघर भएका परिमलले जन्मेको १० महिनामा आमा र १२ वर्षको हुदाँ बुबा गुमाए । बुबाको मृत्युपछि उनलाई घरमा बस्न मन लागेन । बुबा वितेको १० दिनमै बुबाले बजाउदै आएको सारङ्गी भिरेर गाउँबाट निस्केका परिमल फेरी गाउँ फर्केन्न ।

उनले जिन्दगीको लामो यात्रामा धेरै ठाउमा बसोबास गरे । कहिले कतै बसाई सरे, कहिले कतै बसाई सरे । एकै ठाउँमा स्थायी बसोबास गरेनन् । जहाँ जहाँ गए त्यही सारङ्गी रेटे, त्यही दुःख सुःखका गीत सुनाए ।

उनी कर्णाली प्रदेशका अधिकाँश स्थानहरुमा घुमेका छन् । उनले भने, त्यति बेला गाउँमा रेडियो थिएन्, इतिहासमा भएका घटनाहरु गाउँमा सुनाइदिने कोही हुन्थेन् । हामी तिनै इतिहासका घटनाहरुलाई समेटेर गित सुनाउथ्यौ । गाउँमा सारङ्गी बज्दा सुन्नेहरुको घुईचो लाग्थ्यो । लामो समय उनले घरगर्जाे टार्नकै लागी गीत सुनाए, सारङ्गी रेटे ।

रेडियो र सूचना प्रविधिको विकासले गर्दा उनका ति पुरानो भाकामा गाईने गितहरु अहिले त्यति चर्चा हुँदैनन् । गाउँमा सारङ्गी बज्यो भने बुढापाकाहरु सुन्न आउँछन्् । सुख दुखका कुरा गर्छन् । उनका मुख्य श्रोता तिनै बुढापाकाहरु हुन । युवा तन्नेरीहरु भन्छन् नयाँ लयका गीतहरु सुनाउनु । युवा तन्नेरीहरुले मन पराउने नयाँ गीतहरु सुनाउन आफुलाई नआउने उनको भनाई थियो ।

अहिले आर्थिक अवस्था राम्रै भएका परिमलले जीवन निर्वाहका लागि मात्रै गीत गाएका होइनन् । जन्म देखिनै जोडिएको सारङ्गीसँगको साइनो, गाउँ समाजबाट पाइने माया र पुख्र्याैली पेशालाई छोड्न नसकेको बताउने परिमल भन्छन् ‘जुन कथा मैले भोगेको छु, त्यो कथा अरुलाई सुनाउछु र जुन अरुका कथा सुनेको छु त्यही कथालाई समेटेर गीत बनाउँछु ।’

उनलाई गाउँघरका पाखाँहरु मन पर्छ । हरियाली वन अनी लहरै लागेका गाउँवस्तिहरु मन पर्छन् । बाल्यकालका दाजुभाईहरुसँग गरेका भेटहरु सम्झिन मन छ र पुगेका ठाउहरुमा पुनः पुग्न मन छ । त्यहि भएर पनि होला उमेरले नेटो काटि सकेका परिमल त्यहि ५२ वर्ष अगाडी उनका बुबाले रेट्दै आएको सारङ्गी भिरेर अहिले पनि गाउँमा सारङ्गी रेट्दै छन् र भन्छन् आज भेट ईश्वरको दयाले…।

प्रतिक्रिया