कर्णालीको राजधानी सुर्खेतमा फैलदै डेंगु

कर्णालीको राजधानी सुर्खेतमा फैलदै डेंगु

सुर्खेत :  सुर्खेतका पछिल्लो समय डेंगुको संक्रमण फैलन थालेको छ । जिल्लामा दुई महिनाको अवधिमा एक सय पाँच जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी वीरेन्द्रनगर डेंगु संक्रमणको उच्च जोखिममा रहेको हो ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण वीरेन्द्रनगरका ७५ जनामा फेला परेको छ । साउन र भदौको यो अवधिमा दिन प्रतिदिन संक्रमण पुष्टि भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले जानकारी दिए । उनका अनुसार जिल्लामा पुष्टि भएका संक्रमितमध्ये ७२ प्रतिशत वीरेन्द्रनगरका हुन् । गत वर्ष वीरेन्द्रनगरमा ९४ जनामा डेंगुको संक्रमण देखिएको थियो । अघिल्लो वर्षको तथ्यांक हेर्दा अझै संक्रमितको सख्या बढ्ने स्वास्थ्यकर्मीहरूको आकलन छ ।

वीरेन्द्रनगर उपत्यका भित्र पर्ने वडाहरूमा डेंगुको जोखिम धेरै छ । हाल संक्रमण पुष्टि भएकामध्ये अधिकांश उपत्यकाकै बासिन्दा हुन् । नगरपालिकाको वडा नं. २, ३ र ४ मा धेरैमा संक्रमण देखिएको गिरीले बताए ।

डेंगु एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो लामखुट्टेले प्रायः दिउँसोको समयमा टोक्ने भएकाले सजक हुनुपर्ने उनको भनाई छ । लामखुट्टे घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि बढी सक्रिय हुने हुँदा यस समयमा झनै सचेत हुनुपर्ने उनीहरूको भनाइ छ ।

डेंगु संक्रमण भएमा एक्कासी उच्च ज्वरो आउने, ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहने, अत्यधिक टाउको दुख्ने, हाडजोर्नी, मांसपेसी र ढाड दुख्ने तथा शरीरमा बिमिरा आउने, वाकवाकी लाग्नुका साथै बान्ता हुनेलगायतका लक्षणहरू देखिन्छन् । संक्रमितले समयमै उपचार नगरे गम्भीर स्वास्थ्य समस्या समेत देखिने बताइएको छ । डेंगुबाट बच्न मुख्य गरी लामखुट्टेको टोकाईबाट बच्चनुपर्छ ।

यता जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले तत्कालका लागि सचेतनामूलक कार्यक्रमको आवश्यकतो रहेको बताए । परीक्षणको दायरा बढाउन पालिकाहरूसँग आवश्यक समन्वय भइरहेको गौतमको भनाई छ ।

प्रतिक्रिया