निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढ्दो, सचेत रहन आग्रह

निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढ्दो, सचेत रहन आग्रह

सुर्खेत :  निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटिय क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउनु स्थानीय प्रशासनले हाइअलर्ट जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पारगरेपछि उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले हाइलर्टको चेतावनी जारी गरेको हो ।

भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटिय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ । भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ । खतराको विन्दु भनेको ५ मिटर हो । तर अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५.२३ मिटर पुगेको छ ।

अहिले पनि वर्षा भइरहेकाले आगामी ६ घण्टासम्म महाशाखाले सतर्कता अपनाउन विहान ४ बजे चेतावनी जारी गरिसकेको छ । भेरी नदीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँ लगायतका वस्ती जोखिमका बस्ती हुन् ।

यहाँ नागरिकहरुलाई नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान भनिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनकाअनुसार स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर सावधानी अपाउन अपिल गरिएको छ ।

स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायतका विपद्हरुबाट मानवीय तथा आर्थिक क्षती हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

‘विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्दा तथा राहतका लागि मातहतका निकायलाई सचेत र तयारीमा रहन निर्देशन जारी गरिसकेका नै छौं,’ रिजालले भने, ‘कुनै स्थानमा विपदका समस्या आइपरे स्थानीय तह वा नजिकको सुरक्षा निकाय, रेडक्रसकर्मी वा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा तत्काल सम्पर्क गर्न पुनः आग्रह गर्दछु ।’

यता, भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी–बबई डाइभर्सन ड्याम निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख (एसपी) विमल डाँगीले जानकारी दिए । उनले नदीमा बाढी बढ्ने अलर्ट जारी भएसँगै किनारामा रहेका निर्माण सामग्री सारिरहेको बताए ।

प्रतिक्रिया