रुकुम पश्चिममा विपतमा हुने उद्धार सम्बन्धी नमूना अभ्यास

रुकुम पश्चिममा विपतमा हुने उद्धार सम्बन्धी नमूना अभ्यास

रुकुमपश्चिम :  रुकुम पश्चिममा विभिन्न खाले विपतमा परेकाहरुको उद्धार, राहत, सहजिकरण लगायतका क्रियाकलापको नमूना अभ्यास गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयको आयोजनामा व्यवहारिक अभ्यास गरिएको हो । नेपाली सेनाको नरसिंह दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मको संयुक्त टोलीले उद्धारको नमूना अभ्यास गरेको हो ।

नरसिंह दल गणका ५ जना, नेपाल प्रहरीका ५ जना र सशस्त्र प्रहरी बलका ३ जना गरेर नमूना अभ्यास टोलीमा १३ जनाको सहभागिता रहेको थियो । वार्षिक कार्यक्रम अनुसार विभिन्न विपतमा परेर घाइते भएकाहरुलाई कसरी उद्धार गर्ने भनेर नमूना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।

जुनसुकै विपतमा पनि खटिने टिम तयारी अवस्था रहेको र आज उक्त टिमले नमूना अभ्यास गरेको उनको भनाई छ । यस खालको अभ्यासले अन्य निकायलाई समेत विपत् पछिको उद्धार, राहत र सहजीकरण जस्ता कुरामा जुट्न सन्देश दिने उनले विश्वास व्यक्त गरे ।

पहिरो, बाढी, यातायात दुर्घटना, भिरबाट लडि खोँचमा परेका व्यक्तिहरु र अन्य कारणवश खोँचमा घाइते अवस्थामा रहेका व्यक्तिहरुलाई उद्धार गर्ने तरिका प्रस्तुत गरिएको नरसिंह दल गणका गणपति प्रमुख सेनानी प्रमोद शर्माले जानकारी दिए । उनका अनुसार दुई खालको भौगोलिक अवस्थालाई आधार मानेर अभ्यास गरिएको हो ।

दुई वटा वेश बनाउनका लागि उपयुक्त स्थान भएको खण्डमा डोरीको सहायतामा स्ट्रचरको प्रयोगमा गरिने रोप रेस्क्यु र एउटा मात्र वेश बनाउन मिल्ने ठाउँमा पिकेटहरुको प्रयोग गरी एउटा वेश बनाई र्याप्लिङ वा क्लाइम्बिङको तरिकाबाट गरिने उद्धारको नमूना अभ्यास भएको उनले बताए

उक्त अभ्यास नरसिंह दल गण सल्लेमा भएको थियो । अभ्यास अवलोकणका लागि मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया