बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

सुर्खेत :  पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् ।

सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम जाजरकोटका र रुकुमपश्चिममा तीनरतीन घरपरिवारका ३० जना व्यक्ति विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुर्खेतका आठ घरपरिवारका ४५ जना, दैलेखका २४ घरपरिवारका ९१ जना, सल्यानका ६० घरपरिवारका दुई सय २१ जना, जुम्लामा एक सय ८७ घरपरिवारका एक हजार एक सय ६६ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

कालीकोटमा एक सय ६७ घर परिवारका एक हजार दुई सय ६९ जना, हुम्लाका ४५ घरपरिवारका एक सय ८१ जना विस्थापित भएको उनको भनाइ छ । डोल्पामा चार घरपरिवार विस्थापित भएका छन् ।

प्रहरीका तथ्याङ्कअनुसार मृतकको सङ्ख्या ३६ पुगेको छ । राहत र उद्धारका लागि एक हजार नौ सय ३८ प्रहरी खटाइएको सूचना अधिकारी श्रेष्ठले बताए । प्रतिकूल मौसमका कारण लिइएको राहत सामग्री प्रभावित व्यक्तिलाई वितरण गर्न नसकिएको जनाइएको छ ।

 

प्रतिक्रिया