सल्यान जिल्ला अस्पताल भवन निर्माण एक वर्षदेखि अलपत्र

सल्यान जिल्ला अस्पताल भवन निर्माण एक वर्षदेखि अलपत्र

सल्यान :  सल्यान जिल्ला अस्पतालको भवन निर्माण एक वर्षदेखि अलपत्र परेको छ। ठेकेदारको चरम लापरवाहीका कारण अस्पतालका दुईवटा भवन अलपत्र छन्।

अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरवृद्धि गर्न भवन निर्माण थालिए पनि निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी निर्माण सेवा विगत एक वर्षदेखि सम्पर्कविहीन भएको छ। कम्पनीले भवन निर्माणका लागि १ करोड ५० लाख पेश्की समेत लिइसकेको छ। कम्पनीले तीन वर्षमा भवन निर्माणको कार्य सम्पन्न गर्ने गरी २०७८ वैशाखमा सम्झौता गरेको थियो।

सम्झौता गरेको एक वर्ष बितिसक्दा समेत भवन निर्माणका लागि जमिन मिलाउने बाहेक अन्य कुनै प्रगति नभएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए। निर्माण कम्पनीले बीचमै काम अलपत्र पारेपछि समयमै भवन पूरा हुनेमा आशंका उत्पन्न भएको उनको भनाइ छ। ठेकेदार कम्पनीलाई पटक पटक निर्माण कार्य शुरु गर्न पत्र काटे पनि कुनै प्रतिक्रिया नआएको श्रेष्ठको भनाइ छ।

१५ शय्याको अस्पतालमा अहिले ३७ शय्या राखेर उपचार भइरहेको छ। अस्पतालमा सल्यान सहित रुकुम र रोल्पाका २०० सयभन्दा बढी विरामी उपचारका लागि आउने गर्दछन्। सीमित स्रोतसाधन र भौतिक पूर्वाधारका बीचमा पनि विरामीलाई सेवा दिइरहेको सल्यान जिल्ला अस्पतालले जनाएको छ।

प्रतिक्रिया