बैंकमा वृद्धभत्ता बुझ्न ज्येष्ठ नागरिकलाई सास्ती
सुर्खेत : जाजरकोटको भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता लिन यहाँका ज्येष्ठ नागरिकले सास्ती खेप्नुपरेको छ।
बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ता बुझ्न सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन्। शुक्रबार सिटिजन्स बैंकमा पैसा बुझ्न पुगेका जेष्ठ नागरिक चिसो भुइँमा बसेर प्रतीक्षा गरिरहेका देखिन्थे।
तीन घण्टा भन्दा बढी हिँडेर आएका उनीहरूले पालो नपाउँदा भुइँमा बसेर कुर्नुपरेको हो। भेरी १ रिम्नाकी पबी रानाले भत्ता घरमा ल्याएर बुझाइदिने गरे यति धेरै दुस्ख नहुने बताए ।
बुढेसकालमा भत्ता बुझ्न बैंकमा आएर लाइन लाग्नुपर्ने, ठाउँ नभएर सडकमा बस्नु पर्ने अवस्था हुनु दुःखद भएको उनको भनाइ छ । अर्का ज्येष्ठ नागरिक रामबहादुर ओलीले बैंकले बस्ने व्यवस्था नगर्दा समस्या खेप्नु परेको बताए ।
सिटिजन्स बैंकले भेरी नगरपालिका १ र ३ का झण्डै ९०० जेष्ठ नागरिकलाई भत्ताको भुक्तानी दिँदै आएको म्यानेजर टर्जन अधिकारीले बताए। एकै पटक धेरै व्यक्ति आएकाले समस्या भएको उनले बताए ।
प्रतिक्रिया