मतदाताको घरदैलोमै पुगेर मतदाता शिक्षा

मतदाताको घरदैलोमै पुगेर मतदाता शिक्षा

सल्यान : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सल्यानले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । कार्यालयले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन जिल्लाका सबै वडातह हुदैँ घरदैलोसम्म मतदाता शिक्षा सञ्चालनको तयारी गरेको हो ।

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन जिल्लाका ८३ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराईले बताए । ‘यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइनेछ’ उनले भने ।

मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक पालिकामा फोकल व्यक्ति रहने र सोही अन्र्तगत रहेर सबै वडामा एक–एक जना स्वयम्सेवक परिचालन गर्ने तयारी छ । यही कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म सबै पालिका, वडा हुदैँ घरदैलोसम्म मतदाता शिक्षा पुग्ने गरेर मतदाता शिक्षा सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

‘वडामा परिचालन भएका स्वयम्सेवकहरुहरुले वडाका टोल–टोलमा पुगेर मतदातालाई मतदान गर्ने तरिका बारे सिकाउनेछन्, यसले गर्दा मतदाता मतदान गर्ने तरिकाबारे जानकार हुन्छन्’ उनले भने ‘निर्वाचन आयोगको मापदण्ड अनुसार वडा–वडामा महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने छ ।’ मतदाताले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा र प्रदेशसभा तर्फ पनि त्यसरी नै अलग–अलग दुई वटा मतपत्रमा मत हाल्नुपर्नेछ ।

‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन्, त्यसले गर्दा मत बढी बदर भयो’ जिल्ला निर्वाचन अधिकारी भट्टराईले भने ‘मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।’ निर्वाचनका लागि तयार गरिएको पम्प्लेट र पोष्टरलगायत सामग्री मतदाताको घरदैलोमै पुर्याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरिएको उनको भनाइ छ ।

निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र बाहेकका सबै आवश्यक सामग्री जिल्ला आइपुगेको छ । समानुपातिक मतपत्र पनि जिल्ला आइसकेको छ । मतदातालाई लक्षित गरी मतदानमा तिनको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरिका र मतदानको महत्वबारे बोध गराउँछ ।

जिल्लामा एक लाख ५७ हजार ७ सय एक मतदाता रहेका छन् । जसअन्र्तगत पुरुष मतदाता ८० हजार २ सय १२ रहेका छन् भने महिला मतदाता ७७ हजार ४ सय ८९ रहेका छन् । संघिय निर्वाचन क्षेत्र एक मात्रै रहेको सल्यानमा प्रदेशसभा क मा ७८ हजार ६ सय ६८ र प्रदेशसभा ख मा ७९ हजार ३३ मतदाता छन् । यस्तै जिल्लामा एक सय १७ मतदान स्थल र दुई सय दुई मतदान केन्द्र रहेका छन् ।सल्यानटुडे

 

प्रतिक्रिया