लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा

लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा

चितवन :  जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्बजनिक यातायातमा निःशुल्क गरिएको हो । यसका लागि यातायात व्यवसायीसँग सम्झौता भई कार्यान्वयनमा ल्याइएको उनले बताए ।

अहिले पालिकाले विपन्न वर्गका विद्यार्थीका लागि आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर यो कार्यक्रम ल्याएको उनको भनाई छ । माडी क्याम्पस वसन्तपुर, दिवाकर स्मृति बहुप्राविधिक विद्यालय र दश जोड दुई सञ्चालनमा आएका चार वटा माध्यमिक विद्यालयमा अध्ययनरत छ सय हाराहारी विद्यार्थी यो निर्णयबाट लाभान्वित बनेको उनले बताए ।

यही मङ्सिर १५ गतेबाट सेवा सञ्चालनमा आएको हो । यो निर्णयबाट वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिसमेत लाभान्वित बन्ने छन् । वृद्धवृद्धालाई यातायतामा ५० प्रतिशत र अपाङ्गता भएका व्यक्तिलाई शतप्रतिशत छुट दिने निर्णय भएको छ ।

कार्यपालिका बैठकले लक्षित वर्ग यातायात सहुलियतसम्बन्धी कार्यविधि, २०७९ पारित गरी कार्यक्रम लागू गरेको हो । सार्वजनिक यातायातको पहुँच नपुग्ने विद्यार्थीलाई साइकलको व्यवस्था गर्ने तयारी गरिएको पालिकाले जनाएको छ । ढकालका अनुसार हनुमानझुलाका विद्यार्थीले साइकल प्राप्त गर्ने छन् । माध्यमिक शिक्षा अध्ययनका लागि पालिकाले चारवटा विद्यालयलाई यसअघिनै स्कूल बस प्रदान गरेको थियो । माडी नगरपालिकाभित्र भएका शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीले सहुलियत पाउने छन् । घरबाट दश जोड दुई र क्याम्पसमा सार्वजनिक बसमा यात्रा गर्ने विद्यार्थीले यो सुविधा प्रयोग गर्न पाएका हुन् ।

उपचार कोष

रत्ननगर नगरपालिकाले विपन्न नागरिकका लागि उपचार कोष स्थापना गरेको छ । नगरपालिकाभित्र बसोबास गर्ने नगरवासीका लागि रु ३० लाखको उपचार कोष स्थापना गरेको हो । बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने गरी कोष स्थापना गरिएको हो । कोषको आइतबार औपचारिक शुभारम्भ गरिएको छ । कोषको शुभारम्भसँगै अस्पतालमा सहायता कक्षा स्थापना गरी काम सुरु गरिएको छ । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले कोष सञ्चालनको लागि कार्यविधि बनाइएको बताए ।

उनले भने, “आर्थिक अभावका कारण उपचार नपाएर विपन्न नागरिकले मृत्यवरण गर्न नपरोस् भनेर कोष स्थापना गरिएको हो ।” सबै नागरिकको बाँच्न पाउने अधिकार उत्तिकै रहेको भन्दै उनले थपे , “पैसा नभएर अस्पतालबाट रोग लिएर घर फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न कोष स्थापना गरेका हौँ ।”

कोषबाट नगरभित्रका विपन्न नागरिक र सडकमा आएका नागरिकको समेत उपचार गरिने छ । वडाको सिफारिसका आधारमा बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको उनले बताए । एक जनालाई उपचारका लागि १० हजारसम्म उपलब्ध गराउने योजना रहेको छ । उपचार गर्नै नसक्नेका लागि थप रकमसमेत कोषबाट सहयोग गरिने छ ।

कोषको प्रभावकारिता हेरेर अर्को वर्ष रकम दोब्बर गरिने उहाँले कार्यक्रममा घोषणा गर्नुभएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा तीन हजार दुई सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कामको थालनीसमेत गरिसकेको छ ।

प्रतिक्रिया