प्रिय कविदाइ ? (कविता)

प्रिय कविदाइ ? (कविता)

प्रिय कविदाइ ?
तिम्रो पसिनाले
भिजेको
त्रिशुल पुजा कोठामा छ ।
तिमी आफैले बनाएको गाग्री
किन तिमीबाट टाढा भाग्छ ?
कविदाई यसको जवाफ मसँग छ
तर, केहि मानसिक रोगिहरुको दिमागमा
यो घुस्न सकेको छैन ।
यि विभेदका पर्खाल भत्काउन
कस्तो डोजर चाहिन्छ ?
कविदाई ?

तिमीले बनाएका हतियारले
कयौँ युद्धहरु जितेँ
अफसोच तिमीलाई विभेदमुक्त बनाउन
सकेनन् तिम्रै हतियारले कविदाई ।
तिमीले काजी नमस्कार कजिनी नमस्कार
भन्दा म लज्जित हुन्छु ।
मेरा बाका उमेरका तिमीलाई
मैले ढोग्दा किन नाई भन्छौ ?
कविदाई ?

मैले तिम्रो पुरै घर कुल्चिन मिल्ने
अनि तिमीले मेरो दलान छूनै नहुने
आखिर किन ?
तिमी र मेरा बा बिच के भिन्नता छ र ?कविदाई
यि विभेदका पर्खाल भत्काउन
कस्तो डोजर चाहिन्छ ?
कविदाई?

आमाको मृत्युपछि
म झुम्री भाउजुमा आमा देख्छु कविदाई ।
आफ्नोपन हुन र बनाउन जात हैन झुम्री भाउजु
ममता चाहिदो रहेछ ।
जुन कुरा तिमीबाट सिकेँ मैले ।
मलाई कान्छा काजी हैन कान्छो बाबु भनेको सुन्न
मन छ
झुम्री भाउजु ।

तिम्रो अनुहारको चाउरी
र मेरा बाको चाउरीमा म भिन्नता देख्दिन ।
मेरो जमिन जोतेर अन्न जोहो गर्ने तिमी कसरी
हली ?
मरेकोसिनो उठाउन गाँउले
तिमीलाई सधै प्रयोग ग¥यो ।
प्रिय कविदाई अब मरेको सिनो तिमी र
म मिलेर व्यवस्थापन गरौँ ।
तिमी सिकाऊ म उचाल्छु ।
यि विभेदका प्रखाल भत्काउन
कस्तो डोजर चाहिन्छ ?
कविदाई ।

नाता अनुसार र उमेर अनुसार
ढोग्ने बानी बसाल्न
म चेत्ने बेलादेखि लागेको छु कविदाई
तिम्रा कथा र भोगेको जीवनमा
म आफना बालाई उभ्याएर हेर्छु र
स्वयंम उभिन्छु पनि ।
एक पुस्ताको बिट मर्ने बेला भयो कवि दाई ।
यो मेरो पुस्ताले पहाड चिर्ने डोजर झै,
यो विभेद चिर्ने डोजर बनाउने छ
कविदाई ।

प्रतिक्रिया