आँखा उपचार केन्द्रमा उपचारका लागि जाने बिरामीको चाप

आँखा उपचार  केन्द्रमा उपचारका लागि जाने बिरामीको चाप

जुम्ला : जुम्लामा आँखाका बिरामी बढेका छन् । वायु प्रदूषण र मोबाइलको अत्यधिक प्रयोगका कारण आँखाको समस्या देखिएपछि आँखा उपचार केन्द्रमा उपचारका लागि जानेको चाप बढेको हो ।

आर्थिक वर्ष २०६७/०७७ मा ४ हजार ७ सय ५५,२०७७/०७८ मा ५ हजार २ सय ७६, २०७८/०७९ मा ५ हजार ७ सय ९३ र चालू आर्थिक वर्षको हाल सम्म २ हजार १ सय ६४ जना आँखाका बिरामीको उपचार गरिएको केन्द्रका प्रमुख कालीबहादुर रावतले बताए । उनका अनुसार बिरामी हरेक वर्षमा बढेको पाइन्छ ।

मोबाइल तथा कम्प्युटरको बढी मात्रामा प्रयोग गर्दा पटक-पटक आँखामा समस्या देखिने गरेको उनको भनाइ छ । जुम्लाका सबै स्थानीय तहबाट केन्द्रमा उपचारको लागि आउने गर्दछन् । केन्द्रले आँखाका बिरामीको उपचारका लागि समय समयमा केन्द्रमै तथा जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर समेत सञ्चालन गर्दै आएको छ ।

वातावरण प्रदूषण, घरभित्रको धुलो धुवाँ र समयमै आँखा परीक्षण तथा उपचार र सुरक्षा नगर्दा धेरैमा कुनै न कुनै प्रकारका रोगले आँखामा संक्रमण गर्ने गरेको पाइएको छ। मौसम परिवर्तनसँगै आँखा पाक्ने, आँखा रातो हुने, चिलाउने र बिझाउने लगायतका समस्या लिएर आँखाका बिरामी अस्पतालमा आउने गरेका छन् ।

केन्द्रका आइ वर्कर दलबहादुर महताराका अनुसार केही दिनयता आँखा पाक्ने बिरामीको संख्या बढेको छ। आँखाजस्तो संवेदनशील अंगको स्वास्थ्यमा लापर्वाही नगर्न उनले आग्रह गरे । आँखाको समस्या देखिनासाथ केन्द्रमा आउन आँखाका बिरामीलाई उनले सुझाव दिए ।

प्रतिक्रिया