एकहजार बढीले गरे निशुल्क आँखा परिक्षण

एकहजार बढीले गरे निशुल्क आँखा परिक्षण

सल्यान : सल्यानमा एकहजार बढीले निशुल्क आखा परिक्षण गराएक छन् । सल्यानका विभिन तीन स्थानमा भएको शिविरमा एक हजार बढीले निःशुल्क आँखाको जाँच गराएका हुन् । सल्यान आँखा उपचार केन्द्र र स्थानीय तहको समन्वयमा भएको शिविरमा १ हजार ६ सय ३७ जनाको आँखा जाँच गरिएको छ ।

सल्यान आँखा उपचार केन्द्रका अनुसार शारदा नगरपालिकामा ९ सय ३, बागचौर नगरपालिकामा ५सय १७ र दार्मा गाउँपालिकामा २ सय १७ जनाको निःशूल्क आँखा चेकजाँच गरिएको छ । बागचौर नगरपालिकामा ५ सय १७ जनाको आँखा चेकजाँच गर्दा १ सय ३४ जनामा मोतिया विन्दुको समस्या देखिएको र सबैको उपचार समेत गरिएको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम बागचौरका भरत देवकोटाले बताए । यस्तै दार्मा गाउँपालिकामा २ सय १७ जनाको चेकजाँच गर्दा ३४ जनाको मोतियाविन्दूको अप्रेशनका लागि रिफर गरिएको दार्मा गाउँपालिकाले जनाएको छ ।

आँखाको समस्या भएका आधाभन्दा बढीलाई ‘म मोतियाविन्दुको बिरामी हुँ’ भन्ने ज्ञानसमेत नहुने गरेको सल्यान आँखा उपचार केन्द्र शितलपाटी प्रमुख नविना चौधरीले बताए । सर्वसाधारणमा चेतना फैलाएर आँखाको परीक्षण तथा उपचारका लागि सबैलाई प्रेरित गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘मोतियाविन्दुको समस्या रहेकामध्ये आधाभन्दा बढीलाई त्यसका बारेमा जानकारी र कुनै ज्ञान नै छैन । आँखाको समस्या थाहा भएकामा पनि उपचार गराउनुपर्छ भन्ने भावना छैन,’ उनले भने ‘उपचारमा हेलचेक्राइँ गर्ने प्रवृत्ति नै मोतियाविन्दु नियन्त्रणको मुख्य जटिलता र चुनौती हो । अज्ञानता र हेलचेक्राइँँ हटाउन मोतियाविन्दु तथा आँखा उपचार सम्बन्धि चेतना जगाउन आवश्यक छ ।’

उपचार गरे मात्रै आँखालाई सुरक्षित राख्न सकिन्छ भन्ने सन्देश सबैमा पुगेमा आँखा सम्बन्धी रोग न्यूनीकरण र त्यसबाट हुने अन्धोपना रोकथाममा मद्धत पुग्ने जानकारी दिए ।

गाउँघरमै पुनः आँखाको ज्योति पाउदा निकै खुशी लागेको बागचौर नगरपालिका १२ वाफूखोलाकी ८० वर्षीया जयकली वलीले बताउँछन् । आँखा नदेखेरै मरिन्छ की जस्तो लागेको थियो तर यो बुढेसकालमा फेरी नयाँ जीवन पाए उनले भने ।

यस्तै८८ वर्षीय रुपलाल वलीले पनि बुढेसकालमा यातायातमा आवतजावत गर्न गाह्रो मानेर घरैमा बस्दै आएका थिए । तर, घरआगनमै शिविर चल्दा निकै खुशी लागेको उनी बताउँछन् ।

प्रतिक्रिया