जाजरकोटका विद्यालयहरुमा स्थानीय उत्पादन नै दिवा खाजा

जाजरकोटका विद्यालयहरुमा स्थानीय उत्पादन नै दिवा खाजा

जाजरकोट :  जाजरकोटका विद्यालयहरुले स्थानीय उत्पादन दिवा खाजाको रुपमा प्रयोग गर्न थालेका छन् । यहाँका ४६८ वटा सामुदायिक विद्यालयका ४९ हजार १०२ विद्यार्थीलाई दिवा खाजाको रुपमा स्थानीय उपज प्रयोग गरिएको हो ।

बालविकास देखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको रुपमा स्थानीय उत्पादन प्रयोग गरिएको पहाडी क्षेत्र विकास अभियानद्धारा सञ्चालित स्थानीय उपजमा आधारित विद्यालयमा दिवा खाजा कार्यक्रमका संयोजक चन्द्रबहादुर विश्वकर्माले जानकारी दिए ।

जसमा हरियो सागपात, अन्न समुह, गेडागुडी र अन्य समुह (पशुजन्य) गरी कार्वोहाडेड, खनिज, भिटामिन, प्रोटिन लगायत आवश्यक पोषण तत्वहरुको समिश्रण सहितको दिवा खाजाको व्यवस्था भईरहेको विश्वकर्माले बताए । प्रतिविद्यार्थी १५ का दरले जम्मा १८० दिनका लागि झण्डै १३.५ करोड अनुदान बजेट नेपाल सरकारले व्यवस्था गरेको छ । कार्यक्रमले बालबालिकाहरुको विद्यालयमा भर्ना र नियमिततालाई मात्र ध्यान नदिई उनीहरुको स्वास्थ्य र पोषणलाई समेत ध्यानमा राखेको विश्वकर्माको भनाई छ ।

खाजाले बालबालिकाहरुको पोषणको पनि कमीलाई पनि परिपुर्ति गर्ने गर्दछ । विशेषज्ञका अनुसार ४ देखि १२ वर्षका एकजना बालकलाई एक दिनमा १८५० क्यालोरी शक्तिको आवश्यक पर्दछ भने यस दिवा खाजाबाट ३० प्रतिशत क्यालोरी शक्ति अर्थात ५५० क्यालोरी शक्ति आपुर्ति हुने गर्दछ । बालबालिकाहरुको शारिरीक, मानसिक, वौद्धिक र संवेगात्मक विकासमा सहयोग पुग्दछ ।

उक्त क्यालोरी शक्ति खाद्यान्न उत्पादनबाट हुने भएकाले दिवा खाजा कार्यक्रमलाई सहयोग हुने आशयले पालिकाको कृषि शाखा संगको समन्वय र सहकार्यमा जिल्ला भरी ३४१ वटा कृषक समुह गठन गरिएको उनले बताए ।

जिल्लामा एकसय भन्दा बढी यस मौसममा उत्पादन हुने विउ विजनहरु वितरण गरिएको छ । कृषक समुहले उत्पादन गरेको स्थानीय उपजलाई सहकारीहरुले खरिद गरी विद्यालयको मागको आधारमा आपुर्ति भईरहेको उनले बताए ।

नेपाल सरकाबाट प्राप्त बजेट स्थानीय स्तरका कृषक समुहमा रहने अर्थात बाहिर नजाने, स्थानीय उपज स्थानीय स्तरमा खपत हुने, कृषकहरुको आम्दानीमा वृद्धि हुने र विद्यालयका बालबालिकाहरुले सफा, ताजा, स्वच्छ र पोषणयुक्त खाजा खान पाउने भएकाले प्रभावकारी हुने विश्वास लिईएको छ ।

गठित कृषक समुहहरुलाई आधुनिक कृषि प्रविधिसंग जोडेर उनीहरुको सीप, क्षमतालाई विकास गरी स्थानीय बालीलाई प्रवद्र्धन गरी व्यवसायिक रुपमा विकास गर्ने र सहकारीलाई सक्षम गराई, नेपाल सरकार तथा स्थानीय तहबाट कृषि क्षेत्रमा हुने सहयोग र अनुदानमा वृद्धि र समान वितरण गरी स्थानीय सरकारद्धारा समय समयमा अनुगमन गरि स्थानीयस्तरमा परामर्श र प्रशिक्षण गराउन सकेमा नेपाल सरकारले राखेको उद्देश्य र कार्यक्रमद्धारा पुरा हुने र विद्यालयका बालबालिकाहरुले सफा, ताजा, स्वच्छ र पोषणयुक्त खाजा पाउने र कृषि क्षेत्र पनि फस्टाउने र स्थानीय उपजमा दिगोपना हुने स्पष्ट देखिन्छ ।

जाजरकोटमा विश्व खाद्यय कार्यक्रम र मर्सिकोरको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियानद्धारा संचालित स्थानीय उपजमा आधारित विद्यालयमा दिवा खाजा जिल्ला भरी कार्यान्वयन छ । सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि प्रति विद्यार्थी रु १५ का दरले जम्मा १८० दिनका लागि झण्डै १३.५ करोड अनुदान बजेट विनियोजन गरेको छ ।-हाम्रोपहुँच

प्रतिक्रिया