बालबालिका र निरक्षर व्यक्तिको तथ्यांक संकलन गर्दै पुथाउत्तरगंगा

बालबालिका र निरक्षर व्यक्तिको तथ्यांक संकलन गर्दै पुथाउत्तरगंगा

रुकुमपश्चिम :  रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले विद्यालय बाहिर रहेका बालबालिका र निरक्षर नागरिकहरुको तथ्यांक संकलन गर्दै छ । यसका लागि गाउँपालिकाले १४ वटै वडामा तथ्यांक संकलनकर्ताहरु परिचालन गरेको छ । आवश्यक तालिम दिएर गाउँपालिकाले १४ वटै वडामा १/१ जना संकलनकर्ता परिचालन गरेको हो ।

गाउँ शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रमलाई लक्षित गरेर विद्यालय बाहिर रहेका बालबालिका तथा निरक्षर व्यक्तिहरुको विवरण लगायतका अन्य विवरण संकलन हुन लागेको हो । संकलनकर्ताहरुले बिद्यालय बाहिर रहेका बालबालिका र निरक्षर व्यक्तिको विवरण सहित पेसा, व्यवसाय, जनसंख्या लगायतको विवरण संकलन गर्ने बताए ।

यो कार्यक्रमबाट स्थानीय पाठ्यक्रम निर्माणमा टेवा पुग्नुका साथै विद्यालय बाहिर रहेका बालबालिकाको एकीन तथ्यांक आउने र उनिहरुलाई बिद्यालयमा झिकाउने तथा टिकाउने कार्यक्रम बनाउन सहज हुने अपेक्षा राखिएको शिक्षा शाखा प्रमुख खड्काको भनाई छ । त्यस्तै यसबाट निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउनका लागि कार्यक्रम तर्जुमा गर्न समेत सहज हुने अपेक्षा गरिएको छ ।

जिल्लालाई नै साक्षर घोषणा गरिएको भएपनि सबै गाउँपालिकावासी साक्षर नभएको अवस्थामा उनिहरुको एकीन तथ्यांक संकलन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । साथै यसबाट गाउँपालिकाको वास्तविक जनसंख्या पनि पत्ता लाग्ने गाउँपालिकाको विश्वास छ । संकलनकर्ताहरुलाई माघ मसान्तसम्म तोकिएको विवरण सहित गाउँपालिकामा उपस्थित हुन भनिएको छ ।

यि सबै विवरण स्थानीय पाठ्यक्रममा समावेश गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाले नयाँ शैक्षिक सत्रबाट कक्षा १ र कक्षा ६ मा लागु हुने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम सुरु गरिसकेको छ ।

प्रतिक्रिया