आगलागीबाट बच्ने सम्बन्धि नमूना अभ्यास

आगलागीबाट बच्ने सम्बन्धि नमूना अभ्यास

रुकुमपश्चिम : सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म रुकुम पश्चिमले आगलागीबाट बच्ने सम्बन्धि नमूना अभ्यास गरेको छ । मुसिकोट खलंगाको त्रिभुवन जनता माविमा नमूना अभ्यास गरिएको हो । विद्यार्थीहरुलाई आगलागीबाट बच्न सचेत गराउने उदे्श्यले विद्यालयमा नमूना अभ्यास गरिएको सशस्त्र प्रहरी सहायक निरीक्षक मोहन डाँगीले बताए ।

उनका अनुसार विद्यार्थीहरुलाई भान्सा कोठामा ग्याँस सिलिण्डर लिग भएर हुन सक्ने आगलागी नियन्त्रणका बारेमा नमूना अभ्यास गरेर देखाइएको थियो । आगो ताप्दै गर्दा शरिरमा आगो सल्कियो भने त्यसबाट कसरी बच्ने भन्ने बारेमा पनि नमूना अभ्यास गरिएको उनले बताए । त्यस्तै कसैले आत्मदाहको प्रयास गर्यो भने उक्त व्यक्तिलाई कसरी बचाउने भनेर समेत अभ्यास गरिएको डाँगीको भनाई छ ।

विद्यार्थीहरुले व्यवहारिक ज्ञान सिकुन भनेर विद्यालयमा आएर सबै विद्यार्थीका विचमा नमूना अभ्यास गरिएको बताए । त्यस्तै विद्यार्थीहरुलाई सिकाएमा उनिहरुले घरमा गएर आफ्ना अभिभावकहरुलाई पनि सिकाउने भएकाले नमूना अभ्यासका लागि विद्यालयलाई रोजिएको सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मले जनाएको छ ।

विद्यालयका प्रध्यानाध्यापक हरिप्रसाद खनालले यो कार्यक्रम व्यवहारिक रहेको बताए । कार्यक्रमले विद्यार्थीहरुलाई आगलागीबाट कसरी बच्ने भन्ने बारेमा व्यवहारिक ज्ञान प्राप्त भएको उनले बताए ।

प्रतिक्रिया