सुदूरपश्चिमका मुख्यमन्त्रीको आज शपथ लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्रीको आज शपथ लिँदै

कैलाली :  सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीबाट बाहिरिएपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

पुस २७ गते मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त भएका थिए । सत्ता गठबन्धन भित्र रहेका माओवादी , एमाले नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री निर्वाचित भएका रावलले अन्तिममा नागरिक उन्मुक्तिकै सांसदको साथ पाएनन् ।

संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको हैसियतले कांग्रेस प्रदेश संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले हिजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

आज नवनियुक्त मुख्यमन्त्री शाहले शपथ लिने छन् । आजै शपथ ग्रहणको तयारी प्रदेश प्रमुख कार्यालयले गरेको छ । तर, समय भने निर्धारण गरिसकेको छैन ।

प्रतिक्रिया