हिउँ कुर्दै पर्यटन व्यवसायी

हिउँ कुर्दै पर्यटन व्यवसायी

काठमाण्डौ :  मादीको उच्च पहाडी र हिमाली क्षेत्र हिउँ खेल्नेका लागि प्रख्यात छ । यो समयमा यस क्षेत्रका डाँडा र गाउँमा हिउँ खेल्ने पर्यटकको ओइरो देखिन्थ्यो । तर, यो वर्ष अहिलेसम्म हिउँ नपर्दा यहाँका डाँडातिर पर्यटक उक्लिएका छैनन् । हिउँ नपरेका कारण पर्यटकको कमी भएपछि यहाँका पर्यटन व्यवसायी चिन्तित छन् ।

मादी गाउँपालिका–२ क्रपुडाँडामा गएको वर्ष दैनिक २०र२५ जना पर्यटक हिउँ खेल्न पुग्थे । अहिले मुस्किलले तीनरचार जनामात्र पुग्ने गरेका छन् । पर्यटकीय गाउँ ताङतिङको सिरान क्रपुडाँडा हिउँ खेल्नेका लागि सबैभन्दा नजिकको गन्तव्य हो । अहिलेसम्म हिउँ नपर्दा पर्यटकको उपस्थिति कम भएको क्रपुडाँडाका पर्यटन व्यवसायी हिमाल गुरुङले जानकारी दिनुभयो । यहाँ चार वटा होटल छन् ।

‘अघिल्लो वर्ष यही समयमा यहाँका होटलले थेग्नै नसक्ने गरी पाहुना आएकामा यो वर्ष दैनिक तीनरचार जना मात्र आएका छन्, यो सङ्ख्या निकै कम हो,’ गुरुङले भने । उनका अनुसार यो वर्ष पर्यटक कुरेर बस्नुपर्ने अवस्था छ । ‘क्रपुमा पर्यटकको चहलपहल बढी हुने नै हिउँ पर्ने समयमा हो,’ पर्यटन व्यवसायी गुरुङले भने, ‘अघिल्लो वर्ष दसैँतिहारपश्चात् ग्रुप आउन सुरु हुन्थ्यो तर यो मुस्किलले तीनरचार जना आउने गरेका छन् ।’

पर्यटकीय गाउँ सिक्लेसमा पनि हिउँ नपर्दा पर्यटक नपुगेको स्थानीय बेल गुरुङले बताए । ‘हिउँ नपरेपछि पर्यटक सङ्ख्या घटेको छ । दैनिक दैनिक एक सयभन्दा बढी पर्यटक आउने गरेकमा अहिले दैनिक २०/२५ जना पाहुना आउने गरेका छन्,’ उनले भने । सिक्लेससँगै हुगुगोठ, कपुचे, कोरीलगायत हिउँ पर्ने स्थानमा पनि पर्यटक घटेकाले व्यवसायी चिन्तित भएका छन् ।

पानी र हिउँ नपरेपछि सिक्लेसमा खेतीपातीमा समस्या भएको गुरुङले बताए । ‘पानी त बुधवार अलिअलि पर्यो तर हिउँ पर्न सकेन् । जसले गर्दा पर्यटन व्यवसाय धरापमा परेको छ । खेती गर्न पनि समस्या छ,’ गुरुङले भने । उनका अनुसार पानी र हिउँ नपर्दा आलु, गहुँ, जौ, आलु, तोरी, हरियो मटरकोसा, टमाटर, सागलगायत बाली सप्रिन पाएका छैनन ।

जिल्लाको मर्दी हिमाल पदयात्रामा पर्यटकको चहलपहल घटेपछि यस क्षेत्रका पर्यटन व्यवसायी चिन्तित छन् । हिउँ खेल्न जाने पर्यटक पदयात्रामा नआएका लो क्पाम्प गेस्ट हाउस एन्ड रेस्टुरेन्टका सञ्चालक अमृत तामाङले बताए । ‘पयर्टकका लागि यो अफ सिजन हो, अघिल्ला वर्षमा हिउँ खेल्न जाने पर्यटकले व्यवसाय धानेको थियो,’ तामाङले भने, ‘यो पटक पानी नपरेपछि हिउँ पनि परेन, पर्यटक पनि आएका छैनन् । व्यवसाय धान्न गाह्रो छ ।’ उनका अनुसार हिउँ पर्ने समयमा मर्दी हिमाल पदयात्रामा हिउँ खेल्नकै लागि दुई सयभन्दा बढी पर्यटक पुग्ने गर्थे । तर, यो सिजनमा मुस्किलले ४०/५० जना पर्यटन जाने गरेका छन् ।

यहाँको अर्को पर्यटकीय स्थल घान्द्रुक गाउँमा पनि हिउँ नपर्दा पर्यटकको सङ्ख्यामा कमी आएको छ । घान्द्रुक पर्यटन व्यवसायी समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार पर्यटकका लागि अफ सिजन भएकाले पर्यटक कम गएको हुन् । ‘अलि बढी चिसो भए घान्द्रुकमै हिउँ पर्छ तर माथिल्लो भेग देउराली, टाढापानीमा हिउँ परेपछि त्यहाँ जाने धेरै हुन्थे,’ अध्यक्ष गुरुङले भने, ‘यो पटक के भएको हो खै र?  हिउँ पनि परेन, पर्यटक पनि त्यति छैनन् ।’

कास्कीको कोरी, कपुचे, हुगुगोठ, सिक्लेस, क्रपुडाँडा, ताङतिङ, घान्द्रुकसँगै हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत गाउँ तथा डाँडामा भारी हिउँ पर्छ । तर, यो वर्ष पानी नपरेपछि यी स्थानमा हिउँ पर्न सकेको छैन । पानी र हिउँ नपर्नुको मुख्य कारण जलवायु परिवर्तन भएको वन प्राविधिक समाज कास्कीका अध्यक्ष केदार पौडेलले बताए । ‘संसारभर तापक्रम वृद्धि हुँदै गएको छ । ३० वर्ष पहिलाभन्दा एक डिग्री सेल्सियसमा तापक्रम बढेको छ,’ अध्यक्ष पौडेलले भने, ‘यसले गर्दा पानी पर्यो भने पनि एक दर्को मज्जाले पर्ने अनि पर्दैन । सुक्खा खडेरी पर्ने तथा हिम नदी सुक्ने अवस्था आएको छ ।’

लामो समय वन तथा वातावरणका क्षेत्रमा काम गर्नुभएका पौडेलले यस्तै भइरहे अबको एक सय वर्षमा अहिले भइरहेका हिमनदी करिब आधा सुक्ने बताए । कार्बनडाइअक्साइडको मात्रा बढेकाले यस्तो अवस्था भएकाले सरोकारवाला निकाय सजग हुनुपर्ने उनको भनाइ थियो । -रासस

प्रतिक्रिया