ऐतिहासिक जितपछि खेलाडीको मनोबल बढ्यो : कप्तान पौडेल

ऐतिहासिक जितपछि खेलाडीको मनोबल बढ्यो : कप्तान पौडेल

फाइल तस्बीर

काठमाण्डौ :  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ऐतिहासिक जित निकाल्दा आफ्नो टोली निकै उत्साहित भएको बताएका छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा मङ्गलवार भएको आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा दुई विकेटको जितपछि बोल्दै कप्तान रोहितले जितबाट टोलीको हौसला बढेको बताए । यो जितपछि खेलमा लय मिलेको र आउँदा दिनमा यस लयलाई निरन्तरता दिनुपर्ने उनले बताए । डगआउटमा प्रशिक्षकले दिएको हौसलाबाट ठूलो लक्ष्य पनि सजिलै भेटेको कप्तान रोहितको भनाइ छ ।

नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपालका लागि कुशल भुर्तेलले शतक बनाए । शतक बनाउँदा आफू खुसी रहेको उनले प्रतिक्रिया दिए । कुशलले लिग–२ मा बाँकी रहेका १२ खेलमा के गर्ने भन्ने योजना बनाइरहेको बेला पहिलो सफलताले टोलीलाई हौसला मिलेको बताए । नेपाली टोलीको एकदिवसीय मान्यता कायम रहने वा नरहने अवस्थामा प्रशिक्षकले दिएको जिम्मेवारीलाई पूरा गर्न कोसिस गरेको भन्दै उनले आफू ओपनिङमा ब्याटिङ गर्न रुचाउने बताए । शतक पूरा गरेको अवस्थामा व्यक्तिगत हिसाबमा खुसी भए पनि टोलीका लागि खुसी दिलाउन अन्तिमसम्म पुर्याउन नसकेकोमा दुःखी भएको उनको भनाइ छ ।

भ्रमणकारी टोली नामिबियाका कप्तान ग्रेहार्ड इरासमसले क्रिकेटको मजा नै प्रतिस्पर्धामा हुने गरेको बताउँदै खेलकै क्रममा धेरै कीर्तिमान पनि हुने गरेको बताए । ब्याटिङ पिच भएकाले दोस्रो इनिङलाई सहज भएको र घरेलु टोलीलाई समर्थकको साथले सुखद नतिजा मिलेको उनले बताए । नेपाली टोलीले विगतमा ब्याटिङ पक्ष सुधारका लागि सङ्घर्ष गरिरहेको तर अहिले केही सुधार भएको उनको भनाइ छ । नामिबिया कप्तान ग्रेहार्डले अहिलेको नेपाली टोलीले विकेट जोगाउँदै खेल्न अभ्यस्त हुन थालेको टिप्पणी गरे ।

त्रिदेशीय शृङ्खलाअन्तर्गत नेपालले स्कटल्यान्डसँग फागुन ५ गते खेल्नेछ भने फागुन ६ गते नामिबियासँग फेरि खेल्नेछ । आउँदो बुधवार नामिबिया र स्कटल्यान्डबीच खेल हुनेछ ।

प्रतिक्रिया