कर्णालीका महिला मेलापात र घरधन्दामै सीमित

कर्णालीका महिला मेलापात र घरधन्दामै सीमित

जुम्ला :  दुर्गम क्षेत्रका अधिकांश ग्रामीण महिला अहिले पनि घरायसी कामको जिम्मेवारीमै सीमित छन् । मेलापात, पाटी पौवा, धारा पँधेरा र बालबालिकाको भरण पोषणसमेत गर्ने उनीहरू हिंसाको चपेटामा पनि त्यत्तिकै पर्दै आएका छन् ।

बिहान उठ्ने बित्तिकै स्याउला सोतर, खेतीपाती गोडमेल, घरधन्दामै बित्छ उनीहरूको दैनिकी । संविधानले दिएको अधिकारका विषयमा बहुसङ्ख्यक महिला आजसम्म पनि जानकार देखिँदैनन् । त्यसमा ग्रामीण महिलाहरू झनै पछाडि छन् । संविधानले दिएको अधिकार शिक्षित, पढेलेखेका, बाठाटाँठा र सुगमका सीमित महिलाबाहेक सोझा र ग्रामीण महिलाले उपभोग गर्न पाएका छैनन् ।

महिलाको यो पीडा कर्णालीभित्रको ग्रामीण भेक जुम्ला,लगायत साबिकको कर्णाली अञ्चलका अधिकांश दुर्गम क्षेत्रमा यस्तै देखिन्छ । पारिवारिक बोझले सोच्न नसक्ने यस अवस्थाका महिलालाई अधिकारका कुरा सुनाउनु व्यर्थै सुनाएझैँ लाग्छ । सम्पत्तिमा ग्रामीण महिलाको पहुँच कम रहेको तथ्य जिल्ला मालपोत कार्यालय जुम्लाको अभिलेखले प्रस्ट्याउँछ।हिमाली क्षेत्रका महिला किसानलाई कामको बोझ मुलुककै अन्य क्षेत्रका महिलाका तुलनामा अत्यधिक छ ।

पुरुषहरू रोजगारीको खोजीमा भारतलगायत अन्य देशमा जाने तथा बसाइसराइको दर बढेसँगै कृषि कार्यको परम्परागत लैङ्गिक विभाजन विखण्डित हुँदै गएकाले महिलाले घरधन्दासँगै खेतीपातीको ठुलो जिम्मेवारी पनि सम्हाल्नुपरेको छ । महिलाहरूले घरेलु कामकाज तथा सामुदायिक गतिविधिका साथै खेतबारी खनजोत गर्ने, बाली लगाउने, काट्ने र भित्र्याउने अनि कृषि उत्पादनको बजारीकरण गर्नेजस्ता परम्परागत रूपमा पुरुषहरूले गर्दै आएका कामको पनि जिम्मेवारी लिनुपरेको छ। तर उनीहरूको यस्तो योगदान अवैतनिक मात्रै हुँदैन, परिवार तथा समुदायसामु त्यो अदृश्य पनि रहन्छ र सरकारका नीति नियम तथा कृषि कार्यक्रमहरूमा त्यसको झल्कोसम्म देखिँदैन ।

महिलाहरूको सुख सयल तथा आर्थिक–सामाजिक कल्याणका दृष्टिले चिन्ताको विषय हो यो । यस्तो बोझ हटाएर महिलाहरूलाई आफ्ना स्रोतसाधन व्यवस्थापन गर्न र आकांक्षा पछ्याउन सहयोग हुने खालका केही पहल नभएको उनीहरूको गुनासो छ। पति कमाउनतिर लाग्छन् तर घरमा आफूहरू मात्र भएकाले मेलापात र घरधन्दामा लाग्न परेको महिलाहरू बताउँछन् ।

प्रतिक्रिया