विवाह गर्न वडाको सिफारिस अनिवार्य

विवाह गर्न वडाको सिफारिस अनिवार्य

सल्यान : जिल्लाको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका छ वटै वडा कार्यालयमार्फत विवाह अगाडी अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । यो व्यवस्था गाउँ सभाबाट पारित भइसकेको उनको भनाइ छ ।

उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्म दर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए । बालविवाह रोक्न हामीले जनचेतना अभिबुद्धिलगायतका थुप्रै कार्यक्रम सञ्चालन गरेको हौँ तर रोक्न सकिएन, १५÷१६ वर्षको उमेरमा नै बिहे गर्ने क्रम घटेन उनले भने ।

उनले भने ‘हाम्रो पालिकामा गर्भवती महिलाको अवस्थाका बारेमा बुझ्दा एक सय २० जना गर्भवती पहिलो गर्भ जाँच गर्न आएकोमा ३५ जना २० वर्षमुनिका रहेको पाइयो, यसले बताउँछ कि यस गाउँपालिकामा बालविवाहको अवस्था कस्तो छ भनेर’ । बालविवाह हुनुमा मुख्य भूमिका अभिभावकको हुने भएकाले बालविवाहलाई अस्वीकार गर्ने अभिभावकलाई सम्मान गर्ने पालिकाको योजना रहेको उनको भनाई छ

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले यसै वर्षदेखि बालविवाह मुक्त विद्यालय अभियान सञ्चालन गर्न लागिएको बताए । ‘विद्यालय उमेरका केटाकेटीको भागेर विवाह गर्ने चलन धेरै नै छ, यसलाई रोक्न विद्यालयमा सचेतिकरणका कार्यक्रम सञ्चालन गर्ने बताउँदै उनले भने, ‘बालविवाह गर्ने गराउनेलाई कानुनअनुसारको कारबाही छँदै छ, बालविवाह गर्नेका अभिभावकहरूलाई कालोसूचीमा राखेर पालिका र वडा कार्यालयबाट हुने सिफारिस र पञ्जिकरणमा दोब्बर शुल्क लिन्छौँ ।’

प्रतिक्रिया