कुडा कर्नालीको चौथो संस्करण भोली शुक्रवारदेखि

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव (कुडा कर्नाली)को चौथो संस्करण भोली (शुक्रबार)देखि हुने भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा उत्सव सुरु हुने भएको हो । कर्णाली उत्सव आयोजक ऋति फाउण्डेशनले बिहीबार पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि उत्सव हुने जानकारी गराएको हो ।
उत्सवका अघिल्ला संस्करणको माध्यमबाट कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि गन्थन, मन्थन र चिन्तनमा सहयोग पुर्याएको आयोजकले बताएको छ । उत्सव २०७६ फागुनबाट निरन्तर हुँदै आएको छ । गएका वर्षहरूमा कर्णालीको समग्र समृद्धिका लागि सार्थक बहसको नियमित श्रृंखला भइसकेको आयोजकको भनाइ छ ।
कर्णाली उत्सव भाषा, साहित्य, संस्कृति र कलामा मात्र सिमित नरही समृद्ध कर्णालीको सार्थक सपनाबारे बहस गर्ने थलो पनि बनेको छ । सोही क्रममा विभिन्न ५० भन्दा बढी विषयमा छलफल गरिसकेको आयोजकको भनाइ छ । खासगरी सत्ताको केन्द्रीकृत मानसिकतालाई चिर्दै बहुलवाद पहिचान र प्रश्नहरू गर्दै जवाफदेहिताको खोजी गर्ने कुरामा उत्सवमा जोड दिइन्छ। उपेक्षित, दुर्गम र अविकासको मानक बनाइएको कर्णालीका परम्परागत भाग्य र मानकहरूलाई कसरी बदल्ने भन्ने बारेमा चर्चा गरिन्छ ।
शासकसामू उभिन नसक्ने नागरिकका सिमान्त स्वरहरूलाई प्रश्न किन गर्ने भनेर जवाफदेहिताको लागि खबरदारी गर्न सधैँ उत्प्रेरित गरिरहने उद्देश्यले कर्णाली उत्सव आयोजना गरिन्छ । उत्सवको चौथो संकस्करण ‘विचारको एक मात्र प्रहारले समाज बदलिँदैन। त्यसका लागि प्रहारको निरन्तरता जरूरी छ । अनि मात्र जडताको पहाड फोडिन्छ, भन्ने सन्दर्भसहित आयोजना गरिन लागेको उत्सवका संयोजक कमल लम्सालले बताए ।
कर्णालीका हिरोहरु भनेर चिनिने पैकेलोका कथाहरु लोकबाजाका प्रस्तुतिहरूका अलावा कर्णाली कन्सर्टका रूपमा हरेक दिन साँझ सांगीतिक साँझ गजल साँझ र कविता साँझले यस वर्ष फेरि बुलबुले परिसर रंगीन हुने अपेक्षा गरिएको छ । उत्सवको उद्घाटन सत्र बिहान १० बजे निर्धारण गरिएको छ । उत्सवमा यस पटक पनि देशदेशावरबाट ५० भन्दा बढी साहित्यकार लेखक, पत्रकार, कलाकारलगायतको उपस्थिति हुनेछ ।
उत्सवलाई थप आकर्षक बनाउन निजीक्षेत्र लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग साझेदारी गरिएको छ। यस वर्ष उत्सवका लागि ५० देखि ६० लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ ।
प्रतिक्रिया