महिलाको पोषण सुधार गर्न सुत्केरीलाई उपाध्यक्षको पोषण कोसेली

महिलाको पोषण सुधार गर्न सुत्केरीलाई उपाध्यक्षको पोषण कोसेली

सल्यान : जिल्लाको सिद्ध कुमाख गाउँपालिकाले सुत्केरी महिलाको पोषण सुधार गर्न सुत्केरीलाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सुरु गरेको छ । हजार दिनका आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम संचालन गरेको हो ।

‘पोषिलो आहार शिशुको स्याहार,स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित गाउँपालिकाले कोसेली अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ । सुनौलो हजार दिनका आमाहरुलाई एक क्यारेट अन्डा र एक लिटर तेल प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले बताए ।

पोषिलो आहारले नै शिशु र आमाको स्वास्थ्य स्वस्थ हुने भएकाले सुनौलो हजार दिनका आमालाई लक्षित गरी पोषिलो कोसेली कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । गाउँपालिका भरका हजार दिनका आमाहरूलाई पोषण कोसेली प्रदान गर्ने लक्ष्य रहेको बस्नेतको भनाई छ ।

‘हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणप्रति घरपरिवारलाई जागरुक गराउन यस्तो कार्यक्रम सञ्चालन गरेका हौं, ’उनले भने ।
कार्यक्रमले आमा र बच्चामा देखिने कुपोषण घटाउने लक्ष्य लिएको उनको भनाई छ । पोषणको अवस्थामा सुधान ल्याउन र संस्थागत सुत्केरीको संख्या बढाउनको लागि कोसेली कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

कार्यक्रममा घरमै सुत्केरी हुँदा आउनसक्ने जोखिम, पोषिलो खानेकुरा सेवन गर्ने तरिका, स्वास्थ्यप्रतिको नकारात्मक सोचलाई चिर्ने काम समेत गर्दै आइरहेको उनको भनाई छ ।

प्रतिक्रिया