सत्ता गठबन्धन भत्काउन विदेशी शक्ति लागेका छन् : नेता भट्टराई

सत्ता गठबन्धन भत्काउन विदेशी शक्ति लागेका छन् : नेता भट्टराई

सुर्खेत : नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन भत्काउन विदेशी शक्ति लागेको दाबी गरेका छन् ।

शनिवार प्रेस चौतारी कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सत्ता गठबन्धन विदेशीले नभएर नेपाली माटोबाटै बनेको जिकिर गरे  । यो गठबन्धन बनाउन कुनै विदेशीहरूको भूमिका छैन, उनले भने, ‘ हामीले बनाएका हौँ ।  नेपाली माटोबाटै उत्पादन भएको हो । यसमा कुनै रासायनिक मल राखेको छैन। तर, अहिले भत्काउन चाहिँ विदेशीहरू सक्रिय भएको सुन्दैछौं ।

अहिले सत्ता गठबन्धन भत्काउन लाग्नेहरूले गठबन्धन बन्दैछ भनेर थाहा नै नपाएको उनको भनाइ छ ।  उनले भने, ‘अहिले गठबन्धन भत्काउन लाग्नेहरू बन्नेबेलामा सुतिरहेका थिए । उनीहरूलाई शङ्कै थिएन ओली र प्रचण्ड मिल्लान् भनेर । हिजोसम्म झगडा गरेका थिए भन्ने लागेको थियो। त्यस बेलामा पत्तै नपाउनेहरुले अहिले थाहा पाएपछि हामी असफल भयौँ भनेर भत्काउन लागिरहेका छन् ।’

सचिव योगेश भट्टराईले प्रचण्ड आफै एमालेलाई खोज्दै आएर गठबन्धन बनाएको बताए । प्रचण्डले आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने प्रस्तावसहित गठबन्धन निर्माण भएको उनको भनाई थियो ।

उनले राष्ट्रपति एमालेले पाउने प्रस्ताव पनि प्रचण्डकै भएकाले पुस १० को सहमतिमा कुनै फेरबदल नभएको बताए । भट्टराईले एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिमा सबैको साझा उम्मेदवार हुने बताए । उनले भने, ‘एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ। र गठबन्धन भित्र रहेका दलहरूको साझा उम्मेदवार हुने छ।’

यस्तै, भट्टराईले गत मंसिर ४ मा भएको आम निर्वाचन नेकपा एमालेलाई पराजित गर्न गठबन्धन बनाएर घेराबन्दी गरिएको बताए ।

 

प्रतिक्रिया