सल्यानमा क्षयरोगका बिरामी पहिचान

सल्यानमा क्षयरोगका बिरामी पहिचान

सल्यान : जिल्लामा क्षयरोगका १२४ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा क्षयरोगका १२४ बिरामी पहिचान भएका हुन । समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण धेरै क्षयरोगी अझै रोग लुकाएर बस्न बाध्य भएका छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार चालु आर्थिक वर्षमा दार्मा गाउँपालिकामा १०, कुमाख गाउँपालिकामा ३, बनगाड कुपिण्डे नगरपालिकामा १०, सिद्ध कुमाख गाउँपालिकामा ४, बागचौर नगरपालिकामा १५, छत्रेश्वरी गाउँपालिकामा २३, शारदा नगरपालिकामा १५, कालीमाटी गाउँपालिकामा ११, त्रिवेणी गाउँपालिकामा १३ र कपुरकोट गाउँपालिकामा २० गरी १ सय २४ क्षयरोगी पहिचान भएका हुन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १७६, आ।व। २०७८/०७९ मा २६१ र चालु आर्थिक वर्षको पुस मसान्तसम्म १२४ क्षयरोगी पहिचान भएका छन् ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा दार्मा गाउँपालिकामा ११, कुमाख गाउँपालिकामा ६, बनगाड कुपिण्डे नगरपालिकामा १२, सिद्ध कुमाख गाउँपालिकामा १२, बागचौर नगरपालिकामा ११, छत्रेश्वरी गाउँपालिकामा ३०, शारदा नगरपालिकामा ३३, कालीमाटी गाउँपालिकामा १७, त्रिवेणी गाउँपालिकामा १५ र कपुरकोट गाउँपालिकामा २९ क्षयरोगी पहिचान भएका छन् ।

यस्तै आर्थिक वर्ष २०७८र०७९ मा दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा १३, बनगाड कुपिण्डे नगरपालिकामा २०, सिद्ध कुमाख गाउँपालिकामा १७, बागचौर नगरपालिकामा १९, छत्रेश्वरी गाउँपालिकामा ५१, शारदा नगरपालिकामा २७, कालीमाटी गाउँपालिकामा ३९, त्रिवेणी गाउँपालिकामा २२ र कपुुरकोट गाउँपालिकामा ४० क्षयरोगी पहिचान भएका छन् ।

चालु आर्थिक वर्ष सकिन अझै एक चौमासिक बाँकी रहेकाले क्षयरोगका बिरामीको सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो । समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, समाजबाट बहिस्कृत हुने डरले लुकाउने, चेतनाको कमी, पूरा समय औषधी सेवन नगर्नु जस्ता कारण क्षयरोगका बिरामीको सख्ंया बढ्दै गएको डिसीको भनाई छ ।

नियमित क्षयरोगीका बिरामीले उपचार र औषधी सेवन गरेमा यो रोग निको हुने डिसीले बताए । उनले यो रोगबाट भयभीत हुन नहुने तर्क गर्दै उपचारमा आएमा निको हुने बताए ।

क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म कीटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागि रहनु क्षयरोगको मुख्य लक्षण रहेको डिसीको भनाई छ । ज्वरो आउनु, खाना नरुच्नु, छाती दुख्नु, खकारमा रगत देखा पर्नु यस रोगको लक्षण रहेको बताए । यदि कसैमा यस्ता लक्षणहरू देखा परेमा नजिकको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न आग्रह समेत गरे ।

बालबच्चालाई समयमै बिसीजी खोप लगाउने, पोषणयुक्त आहारमा ध्यान दिने र मुख्यतः रोग लागेको शङ्का हुने बित्तिकै स्वास्थ्य उपचारमा लागेर निरन्तर औषधी खाने हो । टिबी रोग निर्मूल पार्न सकिने चिकित्सकको भनाई छ ।

क्षयरोगका बिरामीलाई निःशुल्क औषधी वितरण गरिँदै आएको र औषधीको कुनै अभाव नरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । -सल्यानखबर

प्रतिक्रिया