प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

 

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् । फागुन १ गतेदेखि उनी परराष्ट्र सल्लाहकारमा नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै उनले काम गरिरहेका थिए ।

रुपक पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन्। उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् । उनी नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा नयाँ रणनीति अख्तियार गर्नुपर्ने विश्लेषण गर्दै आइरहेका छन् ।

अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए । यस्तै प्रधानमन्त्रीको प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य नियुक्त भएका छन्। यस्तै, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भने अझै नियुक्त भएका छैनन् । यसअघि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका थिए ।

यस्तै, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सुर्य किरण शर्मा नियुक्त भएका थिए । प्रधानमन्त्रीको स्वकीय सहसचिवमा गोकर्णप्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भइसकेका छन् ।

प्रधाानमन्त्री नियुक्त भएकै दिन मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका थिए। यस्तै, शिव खकुरेल पनि प्रधानमन्त्रीको सचिवालयमा छन् ।

फोटो स्पेशलिस्टमा प्रदीपराज वन्त छन् ।

प्रतिक्रिया