बालगृह नहुँदा बालबालिका कारागारमा बस्न बाध्य

सुर्खेत : कर्णाली प्रदेशमा बालगृह नहुँदा बालबालिका कारागारमा बस्न बाध्य भएका छन् । कर्णालीभरका विभिन्न कारागारमा १० जना बालबालिका कसूर प्रमाणित भइ सजाय भोगिरहेका आमाबुबासँग जेल बस्न बाध्य भएका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत कारागारमा आमासँगै पाँच जना बालबालिका आश्रित रहेका छन् ।
यस्तै, कालीकोटमा एक, दैलखमा दुई र सल्यानमा दुई जना बालबालिका कारागारमा आश्रित छन् । विभिन्न मुद्दामा कसूर प्रमाणित भई सजाय भोगिरहेका आमाबाबुसँगै बालबालिकालाई राख्ने बालगृह नहुँदा कर्णाली प्रदेशका बालबालिकालाई नेपालगन्ज, भक्तपुर, पोखरा र धरान पनि पठाउने गरिएको छ । बाल सुधारगृह नहुँदा परिवारलाई मात्रै नभई प्रहरीलाई समेत समस्या हुने गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठ बताउँछन् । ‘नाबालकलाई बालगृहमा राख्नु पर्ने हुन्छ,’ श्रेष्ठले भने, ‘तर हामी कहाँ बालगृह नहुँदा प्रदेश बाहिर लिनु पर्ने बाध्य भएका छौँ ।’
कर्णालीमा संघ, प्रदेश र स्थानीय तहले बाल सुधारगृह स्थापना गर्न प्राथमिकतामा राखेको छैन । बाल सुधारगृह स्थापनाका लागि कुनै पहल नभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
प्रदेश स्तरीय बाल सुधारगृह स्थापना गर्नुपर्ने भए पनि प्रदेश सरकारले वार्षिक कार्यक्रममा नल्याएको मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले जानकारी दिए । आमाबाबु वा संरक्षकविहीन, बेवारिसे, असहाय, अनाथ, आपराधिक क्रियाकलापमा संलग्न बालबालिकाहरूलाई आश्रय र खानपिन, सुरक्षा, पालनपोषण तथा शिक्षा प्रदान गर्न बालबालिका सम्बन्धी ऐनमा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लागि प्रदेश सरकार वा स्थानीय तहले आवश्यकता अनुसार बालगृहको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न पाउने व्यवस्था रहेको भएतापनि तीनै तहका सरकारहरू चासो भने देखाएका छैनन् ।
प्रतिक्रिया