डा. सन्दुक रुइतलाई १३ करोड बढी रकमको अवार्ड प्रदान
काठमाडौँ : नेपालका प्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई मंगलबार ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले १० लाख अमेरिकी डलर (नेपाली १३ करोड रुपैयाँबढी) को अवार्ड प्रदान गरेको छ ।
बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् । आज राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा खालिफाले इशा डा। रुइतलाई अवार्ड प्रदान गरेका हुन् ।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले अन्धोपना निवारणमा गरेको योगदान बापत बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो । बहराइनका राजा हमाद बिन इसा अल खालिफाले रुइतलाई उक्त अवार्ड हस्तान्तरण गर्दै डा। रुइतले आँखा सेवामा निकै अमूल्य मानवीय सेवाको सर्वोत्कृष्ट काम गरेको बताए ।
३० वर्षभन्दा बढी नेत्र विशेषज्ञका रुपमा काम गरिसकेका उनले कम रकममै शल्यक्रिया र प्रतिगोटा तीन डलरभन्दा कम मूल्यमै पाउन सकिने उच्च गुणस्तरको इन्ट्राओकुलर लेन्स निर्माण गर्ने केन्द्रहरू स्थापना गरे ।
वर्षौंदेखि डा. रुइतले चीन, भारत, बंगलादेश, कम्बोडिया, उत्तर कोरियालगायत अन्य ठाउँमा आँखा शिविर सञ्चालन गरिसकेका छन् । डा. रुइतले ५० हजारभन्दा बढी विपन्न नागरिकका आँखाको निःशुल्क शल्यक्रिया गरिसकेका छन् ।
डा. रुइतले यसअघि सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार, सन् २०१८ मा भारत सरकारले दिने पद्मश्री सम्मान, २०७५ मा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक पाइसकेका छन् ।
प्रतिक्रिया