प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै

 

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाँदैछन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहान ९ बजेका लागि भेटघाट तय भएको छ ।

त्यस्तै, प्रधानमन्त्रीलाई भेट्न सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालुवाटार जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

उनीहरूबीच राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन लागेको हो। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन् ।

फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । नेपाली कांग्रेसले एकरदुई दिनभित्रै पुरानै पाँच दलीय गठबन्धन ब्युँतने दाबी गरेको छ । राष्ट्रपति आफैंले भनेको उम्मेदवार हुनुपर्ने माग राखेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीति थप तरगिंत भएको छ ।

केहीदिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा सघाउन आग्रह गरेपछि एमाले अध्यक्ष ओली झस्किएका छन् ।

त्यो सफल हुन नदिन एमालेले माधव नेपाललाई अघि सार्न खोजेको नेताहरुको बुझाइ छ । राष्ट्रपति चुनावका लागि माओवादी केन्द्र निर्णायक छ। उसले जुन दललाई सहमर्थन गर्छ सोही दलको उम्मेदवार राष्ट्रपतिमा जित्ने निश्चितजस्तै छ ।

प्रतिक्रिया