एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ : सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते मनोनयन हुनुअघि सचिवालय बैठक डाकिएको उपमहासचिव विष्णु रिमालले बताए ।
रिमाले राष्ट्रपति निर्वाचनसहित पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताएका छन् । फागुन १३ गते दिउँसो राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
एमालेको यो बैठकले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार पनि तय गर्ने छ। एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । पुस १० को सहमति अनुसार वर्तमान सत्ता गठबन्धनबाट एमालेले राष्ट्रपति पद पाउनु पर्ने हो ।
तर पुस २६ मा नेपाली कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सहमतिको पक्षमा उभिएका छ्न् । यस्तोमा बिहीबारसम्मको घटनाक्रमअनुसार एमालेले राष्ट्रपति पद गुमाउने अवस्था आएको छ । अहिले नेपाली कांग्रेसले राष्ट्रपति पद लिने गरी प्रचण्डलाई पुस १० मा विघटन भएको पाँच दलीय गठबन्धनमा फर्काउने अन्तिम कसरत गरिरहेको छ ।
प्रतिक्रिया