प्रविधि सम्बन्धी शिक्षकलाई क्षमता विकास तालिम

प्रविधि सम्बन्धी शिक्षकलाई क्षमता विकास तालिम

रुकुम पश्चिम : जिल्लाको त्रिवेणी गाउँपालिकाले आधारभूत तथा माध्यमिक विद्यालयका स्रोत शिक्षकलाई सूचना प्रविधि सम्बन्धी पाँच दिने क्षमता विकास तालिम दिएको छ । गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयमा कार्यरत कम्प्युटर शिक्षक र आइटी फोकल पर्सनहरुलाई तालिम दिइएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन यसअघि लिइएको लक्ष्य अनुसार विद्यालयमा कार्यरत कम्प्युटर र आइटी स्रोत शिक्षकहरुको क्षमता विकास गर्न गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रम अनुसार तालिम आयोजना गरिएको हो । गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले व्यवहारमै देखिने गरी परिवर्तन ल्याउन तालिमको आयोजना गरिएको बताए ।

सिकेका कुराहरुलाई शिक्षक तथा आइटी फोकल पर्शनले आफ्नो विद्यालयमा लागु गर्ने विश्वास उनको छ । तालिमले विद्यालयलाई थप प्रविधिमैत्री बनाउन भूमिका खेल्ने विश्वास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले करकापले नभई कुनै पनि सीप सिक्न इच्छाशक्ति हुनुपर्ने बताउँदै शिक्षकहरुमा उक्त जोस जाँगर हुन जरुरी रहेको बताए ।

त्यसै अन्तर्गत गाउँपालिकाले क्षमता विकास तालिमको आयोजना गरेको उनको भनाई छ । तालिममा बोल्दै गाउँपालिका सामाजिक विकास समितिका संयोजक रनबहादुर पुनले शिक्षकहरुले दिइएको जिम्मेवारी पुरा गर्नुपर्ने र राज्यले गरेको लगानीको प्रतिफल देखिने गरी काम गर्नुपर्ने बताए । यसका लागि गाउँपालिकाले विद्यालय अनुगमणलाई तिव्रता दिएको र कुनै कमजोरी भेटिएमा कारवाही गर्ने उनको भनाई छ ।

त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा फागुन ६ गते शनिबार सुरु भएको तालिमको सहजिकरण शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्राविधिक सहायक डायमण्ड पुन, त्रिवेणी माध्यमिक विध्यालयका कम्प्युटर शिक्षक गम्भिरमान पुन, गाउँपालिकाका सूचना अधिकृत युवराज गिरी लगायतले गरेका थिए ।

प्रतिक्रिया