बराहतालमा भूमिहीनहरुको लगत संकलन शुरु

सुर्खेत : बराहताल गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुको लगत संकलन सुरु भएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरेर पालिका अध्यक्ष भिमबहादुर भन्डारीले जग्गा नापजाँच तथा भुउपयोग गुरुयोजना निर्माण कार्य सुरु गरेका हुन् ।
वर्षौंदेखि जग्गाको लालपूर्जा पाउने आशमा बसेका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाइ लालपुर्जा दिईने भएको छ । पालिकाले जग्गाको लालपूर्जा दिने भनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको कार्यलाई अगाडि बढाइरहेको जनाएको छ ।
बराहताल गाँउपालिकामा ४ हजार ९ सय ५० जना अव्यवस्थित रुपमा बसोबास गर्दै आएको राष्ट्रिय भुमि आयोग बराहतालका शाखा प्रमुख रामकृष्ण गौतमले जानकारी दिए । उनले अहिले वडावडामा अनुसुचि पठाईएको साथै जग्गाको नापजाँच गर्ने कार्य भईरहेको बताए ।
अहिले लगत संकलनको काम भइरहेको वडाबाट सिफारिस भएर आएका लगत माथि विस्तृतमा अध्यन हुने र वास्तविक भूमिहीन दलित तथा भूमिहीन सकुम्वासी र अव्यवस्थित वसोवासीहरुको लगत आयोगमा सिफारिस गरी लालपुर्जा वितरण गर्ने गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले बताए ।
गाउँपालिकाले यसअघि वडा नम्बर ५ का एकसय जनालाई लालपुर्जा वितरण गरिसेको छ भने २ सय ५० जनालाई दिने तयारी रहेको उनले जानकारी दिए । उनले लालपुर्जा वितरण गरेपछि आफुले जनतासँग गरेका विभिन्न प्रतिवद्धता मध्येको एक प्रतिवद्धता पुरा हुने बताए । अध्यक्ष भण्डारीले आगामी बैशाखसम्म बराहतालका सबै भुमिहिन तथा सुकुम्बासीहरुलाई लालपुर्जा दिईसक्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया