सामूदायिक विद्यालयहरुको गुणस्तरीय शिक्षा प्रति सरोकारवालाहरु र आमजनमानसले चिन्ता र चासो ब्यक्त गरिरहेको अवस्था छ ।अझ खासगरि बालबालिकाको सिकाई उपलब्धको स्तर उकास्न नसकिएको बिषय छलफलको केन्द्र बिन्दुमा रहेको छ ।
फलस्वरुप अभिभावकहरुमा सामूदायिक बिद्यालयहरु प्रतिको आर्कषणमा कमि आईरहेको र निजी बिद्यालयहरुमा महंगो शुल्क र संरक्षण चासोका बिच आफ्ना बालबालिकाहरुलाई पठाईरहेका छन् ।ब्यवहारमा के देखिएकोछ भने राम्रो आर्थिक अवस्था वा बालबालिकाको शिक्षामा खर्च धान्न सक्ने अवस्थाका अभिभावकहरु सकभर नीजी विद्यालयमै पढाउन चाहन्छन् जुन कुरा हाम्रो शिक्षा प्रणालीकै लागी चुनौतिको बिषय भैरहेकोछ । राज्य, अभिभावक, स्वंयम् बिद्यार्थीको एक बर्षको लगानी खेर जाने अवस्था भईरहेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एक प्रतिवेदनमा शिक्षा समिक्षा कार्यालय र त्यसमा आधारित कक्षा ३ को विद्यार्थीको प्रगतीको राष्ट्रिय मूल्यांकन, २०२० अनुसार(सातवटै प्रदेशबाट ५८० वटा विद्यालयको कक्षा ३ को ७४३३ विद्यार्थी) गणित बिषयको बिभिन्न उपकार्यहरुमध्ये ज्यामितीय आकार पहिचान (प्रकारहरु–३) मा औषत उपलब्धी ५०.७६प्रतिशत, कोण र साइडको पहिचान (प्रकारहरु-२) मा औषत उपलब्धी ४४.९९, संख्या पहिचान (प्रकारहरु-३) मा औषत उपलब्धी ३३.८०, अंकगणितीय संकेतको प्रयोग (प्रकारहरु–८) मा औषत उपलब्धी ३६.३४, भिन्न (प्रकारहरु-३) मा औषत उपलब्धी २२.५४, घडि हेर्ने (प्रकारहरु–१) मा औषत उपलब्धी ३५.३२५, दैनिक जीवनको गणित (प्रकारहरु–३) मा औषत उपलब्धी ४०.२३ प्रतिशत रहेको पाईयो । यो तथ्यलाई हेर्ने हो भने समष्टि गणित बिषयको सिकाई स्तर एकदमै औषतमा ३० प्रतिशतको हाराहारीमा रहेको पाईन्छ ।यो अध्ययनले भौगोलिक रुपमा बिभिन्न ठाउँमा बसोवास गर्ने बिद्यार्थीको अनुसार पनि फरक नतिजा देखाएको छ । जस्तोकि प्रदेश २ को औषत उपलब्धी ४५.९७ छ भने सबै भन्दा कमजोर सिकाई उपलब्धी सुदुरपश्चिम र कर्णाली प्रदेशको समान २५.१५ रहेको देखिएकोछ । त्यस्तै गरिकन सातवटै प्रदेशमा अवस्थित १४०० विद्यालयका २८३३१ जना कक्षा ५ का विद्यार्थीहरुको नमुनाको आधारमा गणित विषयको नतिजा हेर्दा कक्षा ५ मा ७०% भन्दा बढि विद्यार्थीहरुले २८% भन्दा कम पाठ्क्रमले आशा गरेको गणित मा प्राप्त गर्न सकेको पाइन्छ, जसले ठुलो संख्यामा विद्यार्थीहरु यो विषयमा कमजोर भएको संकेत गर्दछ । मात्र २८% विद्यार्थीहरुले कक्षा ५ को अन्तिम सम्म पाठ्यक्रमले तोके अनुरुपको प्रयाप्त गणितिय ज्ञान र सीप हाँसिल गर्न सकेको पाइन्छ ।
उल्लेखित नतिजाले हाम्रो सामूदायिक बिद्यालयको शैक्षिक अवस्थालाई उजागर गर्दछ र हामीले तत्कालै सुधारका प्रयासहरु अवलम्बन गर्नु जरुरी रहेको कुरामा जोड दिन्छ ।अध्ययनले उच्च शैक्षिक योग्यता भएका प्रधानाध्यापक भएको विद्यालयको विद्यार्थीको प्राप्तांक राम्रो देखिएको छ । त्यसैगरी, प्रधानाध्यापकले प्राप्त गरेको तालिम विद्यार्थीको शैक्षिक उपलब्धि संग प्रत्यक्ष सम्बन्ध राख्दछ । प्रधानाध्यापकले विगत दुई वर्षमा तालिम लिएको विद्यालयको हकमा विद्यार्थीको शैक्षिक उपलब्धि राम्रो देखियो । साथै, लामो शिक्षण अनुभव भएको विद्यालय र प्रधानाध्यापक भएको विद्यालयको विद्यार्थीको औषत गणितिय उपलब्धि राम्रो देखिन्छ ।
त्यस्तै गरि राम्रो सिकाईका लागी विद्यालयको ब्यवस्थापन पक्ष प्रभावकारी र उत्तरदायी हुन जरुरी हुन्छ । सबै सामुदायिक विद्यालयहरुले विद्यार्थीलाई सिक्नको लागि समान अवसर प्रदान गर्नुपर्दछ । विद्यार्थीहरुको उपलब्धि स्तरमा एकरुपता ल्याउन भौतिक पूर्वाधार, शिक्षामा अवसर, श्रोतमा पहुँच, प्रोत्साहन र शिक्षक व्यवस्थापन अन्तर्गत शिक्षकहरु प्रति राम्रो धारणाका लागि न्युनतम मापदण्ड निर्धारण गर्नुपर्दछ । शिक्षक प्रतिकोराम्रोधारणाले विद्यार्थीकोसिकाईमा बढ्दो उपलब्धि संग सम्बन्ध राख्दछ । सबै विद्यालयहरुमा विद्यार्थीहरुको सिकाइका कठिनाईहरु पहिचान गरी त्यसको उपचारात्मक शिक्षाद्धारा सम्बोधन गरीनु पर्दछ । नियमित अनुगमन, सहयोग र अनुगमन संयन्त्रलाई अझैँ राम्रो बनाउन पर्दछ ।‘
उसो भए बिद्यालयमा प्रभावकारी ब्यवस्थापनका लागी गर्न सकिने कुराहरु के हुन सक्दछन्, यसै सेरोफेरोमा यो आलेखमा चर्चा गर्ने कोशिश गरेको छु । एउटा सफल विद्यालयले बालबालिकाहरुको सिकाई तथा मनोसमाजिक प्रतिफलहरुलाई प्रबद्र्धन गर्दै सर्बाङ्गिण विकासका लक्ष्यहरु हासिल गर्नु पर्दछ जुन कुरा विद्यालयको सक्षम, प्रभावकारी नेतृत्व र ब्यवस्थापन विना सम्भव हुदैन ।बिद्यालय नेतृत्व भन्नाले मूलतः बि.ब्य.स र प्रधानाध्यापक बुझ्नु पर्दछ । यि दुबै पक्षहरुको बिचमा राम्रो सम्बन्ध, समन्वय र सहकार्य हुन जरुरीछ जसले बिद्यालयका बिभिन्न आयामहरुको प्रभावकारी ब्यवस्थापन तथा परिचालन गर्न सक्दछन् ।खासगरिकन बिद्यालय नेतृत्व र विकासका लागी संस्थागत क्षमता विकास, बिद्यालयको शुसासन र प्रभावकारी समन्वय, सहकार्य एवं सञ्चार हुन आवश्यक छ ।
बिद्यालय नेतृत्वको कुरा गर्दा खासगरि बिद्यालयको प्रधानाध्यापक र बि.ब्यस अध्यक्षहरुलाई मुख्य गरि लिइने हुँदा एउटा असल नेतृत्वले भबिष्यमा संसथालाई कहाँ पुर्याउने भनेर सपना देख्दछ र त्यस सपनालाई कसरी पुरा गर्ने भनेर बाटो तय गर्दछ । र त्यसका लागी प्रणालीमा सुधार ल्याई कुुशल टीम निर्माण गरि लक्ष्य प्राप्तिका लागी उत्प्रेरणा प्रदान गर्दछ ।सफल नेतृत्वले संस्थाहरुको रुपान्तरण गर्न, असल मूल्यमान्यताहरु स्थापित गर्न, दक्षताहरु सिर्जना गर्न र आफ्ना मानवीय जनशक्तिको क्षमता अभिबृद्धि गर्दे राम्रो परिणामहरु हासिल गर्न सक्षम बनाउदछ ।बिद्यालय नेतृत्व मार्फत भौतिक, शैक्षिक सामग्री र मानव संसाधन ब्यवस्थापनको कुशल प्रयोग र बिद्यालय गतिबिधिहरुमा उच्च संग्लग्नताको अपेक्षा राखिन्छ । बिभिन्न अध्ययन अनुसन्धानहरुले के देखाएको छ भने जुन बिद्यालयका प्रधानाध्यपकहरुको शैक्षिक योग्यता उच्च छ, अध्यापनमा अनुभवी हुनुहुन्छ, आफ्नो जिम्मेवारी र भूमिकामा प्रष्ट हुनुहुन्छ र खासमा नेतृतवको भूमिका राम्ररी बुझ्ने र निभाउन सक्ने सक्षम ति बिद्यालयहरुको शैक्षिक विकास र सिकाई उपलब्धीमा राम्रो भएको पाईएकोछ । बिद्यालयको प्रधानाध्यापक बिशेष गरि बिद्यालयको शैक्षिक गतिविधी र दैनिक प्रशासनिक कार्य गर्नका लागी जिम्मेवारी तोकिएको प्रमुख ब्यक्ति हो ।
क. बिद्यालय नेतृत्वको संस्थागत विकास : हाम्रा सामूदायिक विद्यालयहरुमा शिक्षकको दरबन्दी कमि रहेको कुरा सर्बबिदितै छ, अझ त्यसमा पनि प्रधानाध्यापकले पनि बिषयगत शिक्षणमा संलग्न हुनुपर्ने भएकोले क्षमता विकासका क्रियाकलायहरुमा सहभागी हुने अवसरहरु पाईरहेका छैनन्, खासगरि आधारभूतका (कक्षा १ देखी ५) प्र.अ ज्यूहरुलाई नेतृत्व तथा ब्यवस्थापकिय क्षमता विकासका क्रियाकलापमा सुब्यवस्थित अवसरहरुको पनि कमि रहेकोछ ।बिद्यालय ब्यवस्थापन, योजना निर्माण, समिक्षा, पुनरावलोकन, स्रोत परिचालन, सम्पर्क, समन्वय र सहकार्यका लागी समय ब्यवस्थापनको चुनौति रहेकोछ । कुनै दिन शिक्षकहरु बिशेष परिस्थितले बिद्यालय आउन नसक्ने अवस्थामा प्रधानाध्यापक ज्यूले नै थप कक्षाको ब्यवस्थापन गर्नु परिरहेकोछ ।यस्तो अवस्थामा बिद्यालयको नेतृत्वलाई शैक्षणिक योजना निर्माण, शिक्षक सहायता तथा पृष्ठपोषण र बिद्यार्थीहरुको सिकाई एवं मनोसमाजिक विकास जस्ता कार्यमा संग्लग्न हुन, कार्यान्वयन गर्न, नियमित अनुगमन र मूल्यांकन गर्ने जुस्ता कुरामा चुनौति थपिएको देखिन्छ । यदि त्यसो हो भने कसरी क्षमता बिकास खास गरि विद्यालयको ब्यवस्थापन र बिद्यार्थीको सिकाईका सन्दर्भमा सहभागी हुन सकिएला त ?
१. क्षमता विकासका तौरतरिका र अवसरहरु : क्षमता विकासको कुरा गरिरहदा तिन वटा तरिकाहरु प्रचलनमा रहेको देखिन्छ, पहिलो बिभिन्न तालिम, गोष्ठि, सेमिनार, भ्रमण आदिमा प्रत्यक्ष आमुनेसामुने भाग लिने, दोस्रो साथी साथीहरु बिच ज्ञान अनुभवहरु आदाप्रदान गरि सिक्ने र तेस्रो भनेको आफ्नै प्रयासहरु मार्फत बिभिन्न माध्यमहरुको प्रयोग जस्तै सिकाई वा क्षमता विकास गर्ने यि तिन तरिकाहरु मध्ये पहिलो तरिका भनेको बिशेषज्ञ वा प्रशिक्षक बाट लिईने तरिका हो जुन २० प्रतिशत मात्रै सिकाईको लागी प्रभावकारी हुन्छ, दोस्रो तरिका साथी साथी वा सहकर्मी बिच सिकिने तरिकाले ३० प्रतिशत र आफैले कोशिष गरेर सिकेको कुरा ५० प्रतिशत प्रभावकारी हुन्छ । अर्थात आफै सिक्ने पद्धति नै क्षमता विकासको हिसाबले सबै भन्दा प्रभावकारी र दिगो हुन्छ । तर हामीहरुमा कुनै तालिम, गोष्ठि, सेमिनार वा भ्रमणमा आमुनेसामुने बाहेक गरिने सिकाईका अवसरहरुलाई मात्रै क्षमता विकासको रुपमा लिईरहेको हुँदा आफुलाई पछाडी पारिरहेका छौं । अझ हाम्रा ब्यक्तिगत आग्रह पूर्वाग्रह तथा अहंकार आदिका कारणले सिकाई आदाप्रदान भैरहेको अवस्था छैन भने त्यस खालका अवसर र अभ्यासहरुको पनि कमि रहेको पाईन्छ । त्यसकारण आमुनेसामुने बाट वा सहकर्मी बिच लिन सकिने क्षमता विकासका अवसरहरुको पनि कमि भएको, समय र स्रोतको हिसाबले पनि खर्चिलो भएकोले किन हामी अब स्व–सिकाईमा जोड नदिने त ? माथी चर्चा गरेजस्तै यो तरिका अन्यको तुलनामा प्रभावकारी पनि देखिन्छ । अब यसका लागी स्थानिय सरकारहरुले बिद्यालयमा ईन्टरनेटको ब्यवस्था गरिदिने तथा शिक्षकहरुले बिभिन्न सरकारी तथा अन्य अन लाइन पोर्टल मार्फत सिकाई हासिल गर्न सक्दछन् । हिजोआज हामी अधिकतम रुपमा सामाजिक सञ्जालको प्रयोग सक्रियतापूर्बक गरिनैरहेका छौ, यसमा केहि समय सिकाईको लागी छुट्याउँदा अझै राम्रो हुन्छ ।
– आमुनेसामुनेमा सहभागी हुने खालका क्षमता विकासका क्रियाकलापहरु : यसका लागी पालिकाहरुले आफ्ना प्रधानाध्यापकहरु तथा बि.ब्य.सको आवश्यकताको लेखाजोखा गरि तद्अनुरुप क्षमता विकासका कार्यक्रमहरु तालिम, गोष्ठि, सेमिनार, भम्रण आदिको योजना गरि कार्यान्वयन गर्ने । यसका लागी स्थानिय सरकारले शिक्षण पेशागत विकास सम्बन्धि कार्यविधी र योजना विकास गर्नु बाञ्छनिय हुन्छ ।
– साथी–साथी वा सहकर्मी बिच गरिने सिकाई : यसका लागी स्थानिय सरकारले शिक्षकहरुका बिच सिकाई घुम्ती बैठक, बिषयगत रोष्टर शिक्षकको सूचि तयार गरि परिचालन गर्ने, बिभिन्न सिकाई मेला, सिकाई सामग्री प्रर्दशनी, अनलाईनमा समस्या तथा राम्रा अभ्यास आदानप्रदान गर्न सकिने खालका अवसरहरु सिर्जना गरिदिने, तालिम प्राप्त (कुनै पनि माध्यम बाट) शिक्षकले स्टाफ बैठकमा जानकारी दिने जस्ता क्रियाकलापहरु सञ्चालन गर्न सकिन्छ ।
– स्व–सिकाई : यसमा चाहि बिभिन्न खालका सिकाईका अन लाईन पोर्टलहरुको प्रयोग गरि आफुलाई आवश्यकता परेको ज्ञानसीप हासिल गर्ने, बिभिन्न प्रकाशित सामग्रीहरु मार्फत, कार्यात्मक अनुसन्धान, परियोजना कार्य जस्ता अध्ययन अनुसन्धान गरि क्षमता विकास गर्न सकिन्छ ।
बिद्यालय ब्यवस्थापन समिति बिद्यालय शिक्षाको प्रमुख सरोकारवाला निकाय हो जसको योजना निर्माण, कार्यान्वयन, स्रोत ब्यवस्थापन तथा परिचालन, नियमित अनुगमन तथा मूल्यांकन, बिद्यालय र समूदाय बिचको समन्वय, समधुर सहकार्य, बिभिन्न निकाय सम्म समन्वय गर्ने मूख्य भूमिकामा रहेकोछ । यसअर्थमा बि.ब्य.स बिद्यालयको समग्र शैक्षिक, भौतिक, आर्थिक जस्ता पक्षहरुको परिपूर्ति, ब्यवस्थापन, परिचालनको लागी उत्तरदायीछ ।त्यसका लागी बि.ब्य.सको समयमै गठन, नियमित बैठक, सबैको समानुपातिक प्रतिनिधित्व, आफ्नो बिद्यालयलाई कहाँ पुर्याउने भन्ने कुरामा प्रष्टता, त्यसका लागी बिद्यालयको योजना र योजनाको कार्यान्वयनका लागी स्पष्टता आदि हुन जरुरी रहन्छ । एउटा राम्रो वा नमुना बिद्यालयका लागी बिद्यालयको गुणस्तरिय वातावरण कस्तो हुनु पर्दछ, सिकाईका हिसाबले बिद्यालय कस्तो हुने, बिद्यालयको आन्तरिक सक्षमता र न्यूनतम सक्षमताको हिसाबले कस्तो हुने भन्ने बिद्यालय नेतृत्वले निश्चित सूचकहरु निर्धारण गर्नु जरुरी छ ।
यसकै आधारमा नियमित रुपमा समिक्षा गर्ने, र कमजोर सूचकहरुमा नियमित रुपमा छलफल गरि सुधारको योजना बनाउने र त्यसलाई कार्यान्वयन गरि लक्ष्य हासिल गर्न बिभिन्न निकायहरु संग प्रभावकारी सञ्चार, समन्वय र सहकार्य गर्नु जरुरीछ ।हामीले सुन्दै आएको कुरा के हो भने बिद्यालयले निमार्ण गरेका बिद्यालय सुधार योजना केवल तलब प्राप्त गर्न वा शिक्षा शाखाका लागी तयार गरेका बिद्यालयको वास्तविक आवश्कताका आधारमा बनेका छैनन्, अझै कतिपय विद्यालयका क्क्ष्ए त अन्य कतै बाट साभार गर्ने गरिएका छन् ।त्यसकारण बिद्यालय ब्यवस्थापन समितिमा आफ्नो बिद्यालयको सुधार योजना निर्माण सम्बन्धी राम्रो जानकारी हुन आवश्यक छ । किन यो बिद्यालयको लागी आवश्यक छ, यसले बिद्यालयको सिकाई वातावरणका लागी कसरी योगदान गर्दछ, सुधार योजनाको कार्यान्वयनको सन्र्दभमा सरोकारवालहरुको सहभागतिा किन आवश्यक पर्छ, समिक्षा किन जरुरी छ, स्रोत पहिचान, स्रोतको प्राप्ती, परिचालन र पारदर्शीरुपमा सरोकारवालाहरुलाई किन जानकारी गराउनु पर्छ भन्ने कुराको ज्ञान सीप र बोध हुन आवश्यक छ ।
बिद्यालय प्रशासन : बिद्यालयको ब्यवस्थापन तब राम्रो हुन्छ जब नेतृत्व पक्ति बिद्यार्थीको सिकाई र सर्बौत्तम हित एव बिद्यालयमा गुणस्तरीय वातावरण पुरा गर्न सक्षम र योग्य हुन्छ र बिद्यालय ब्यवस्थापन तब प्रभावकारी रहन्छ जब बिद्यालयको भौतिक, शैक्षिक, आर्थिक आदि सबै पक्षहरुको योजना निर्माण, कार्यान्वयन, मूल्याकंन र समिक्षामा सबै सरोकारवालाहरुको सहभागिता सुनिश्चित गरिन्छ । किनकी सहभागिताले अपनत्वको भावनामा बृद्धि हुन्छ ,जहाँ अपनत्व हुन्छ त्यहाँ परिबर्तन/सुधार वा केहि कुरा प्राप्तीका लागी सबैको प्रयासहरुहरुमा योगदान भएको हुन्छ । अपनत्वको भावना अभिबृद्धिका लागी बिद्यालयले आवश्यकता र औचित्यतका आधारमा बिकेन्द्रित नेतृत्व विकास गर्न जरुरी छ, यसका लागी उप समितिहरु, सम्पर्क ब्यक्तिहरु तोकि जिम्मेवारी र भूमिका प्रदान गर्न सकिन्छ ।यसो गर्नाले बिद्यालयमा दोस्रो तहको नेतृत्व विकास हुने अवसर सृजना त हुन्छ नै, फरक फरक ब्यक्तिहरुको संग्लग्नताले नयाँ बिचार र सोंचका साथ कार्यहरु सजिलै र छिटो समपन्न हुने अवस्थाको वातावरण निर्माण हुन्छ ।
सबैमा एक खालको सम्मानित तथा आफु पनि बिद्यालयको लागी महत्वपूर्ण रैछु भन्ने आभास भई बिद्यालयका गतिविधीहरुमा सहभागिता बढ्ने हुन्छ । एउटा मननयोग्य कुरा के हो भने कुनै पनि ब्यक्ति जहाँ सम्मान वा आफु महत्वपूर्ण रैछु भन्ने अभाष गर्देन त्यहाँ उसको सार्थक सहभागिता हुन सक्दैन ।यसले गर्दा जे गर्छन प्रधानाध्यापक वा अध्यक्षले मात्रै गर्छन, हामीलाई त जिम्मेवारी नै दिदैन वा थाहा नै दिदैन भन्ने कुराहरु जस्ता आरोपहरुबाट नेतृत्वलाई टाढा राख्दछ । त्यस्तै गरिकन राम्रो ब्यवस्थापनका लागी बिद्यालयका गतिबिधिहरु परदर्शी हुनुपर्दछ जसले गर्दा बिद्यालयका सरोकारवालाहरुले नेतृत्वलाई बिश्वास गर्ने वातावरण तयार हुन्छ, जब यस्तो हुन्छ तब समूदायका सरोकारवालाहरुले बिद्यालयको गतिविधिमा चासो, समर्थन र सहयोग गर्ने वातावरण तयार हुन्छ । यहाँ उल्लेखनीय कुरा के हो भने जागरुक वा सक्रिय अभिभावहरु विना कुनै पनि बिद्यालयको सिकाई वातावरण र बालबालिकाको सिकाई स्तर सुधार्न सकिदैन ।
एउटा भनाई छ बिद्यालय कस्तो भन्ने कुरा बिद्यालयको टवाईलेट हेरे पुग्छरे त्यस्तै कुनै पनि गाउँ वा समाजका मान्छेहरु कस्ता भन्ने कुरा बिद्यालयको बातावरण/सिकाई हेरे पुग्छरे । यसको अर्थ के हो भन्ने बिद्यालय राम्रो बनाउनका लागी समूदायको महत्वपूर्ण र अपरिहार्य भूमिका छ यसका लागी बिद्यालय परिवार र समूदाय बिच बिश्वासको वातावरण तयार गर्न आपसी समन्वय, सहकार्य, बिद्यालयका गतिबिधि समूदायका सरोकारवालहरुको सहभागिता, नियमित सूचना जानकारी आदाप्रदान हुन जरुरी छ । अब प्रभावकारी रुपमा समूदाय र बिद्यालयका गतिबिधि समूदाय सम्म पुर्याउने साधनका रुपमा बिद्यालयको सूचना पार्टीको सहि र नियमित प्रयोग, आमभेला, कक्षागत तथा ब्यक्तिगत बैठकहरु हुन जरुरी हुन्छ ।
त्यस्तै गरि नियमित रुपमा सामाजिक परिक्षण, लेखा परिक्षण, बिद्यार्थीको सिकाई उपलब्धी र हितलाई केन्द्रबिन्दुमा राखेर नियमित छलफलहरु कक्षा शिक्षक वा तोकिएको शिक्षकहरु बाट हुन जरुरी छ । खास गरि बिद्यालयहरुमा स्रोतका मामिलामा किचलो वा बिबाद हुने गरेको पाईन्छ, कति रकम थियो, कहाँ, के कसरी कसले खर्च भयो भन्ने जस्ता कुराहरुले बिवाद सिर्जना हुने गरेका छन्, जगजाहेरछ जहाँ बिवाद हुन्छ त्यहाँ अवश्य पनि बिद्यालय प्रति सबैको एक्येबद्धता हुनसक्दैन ।हाम्रो बिद्यालयको गुणस्तरीय शिक्षाका सन्र्दभमा दुरगामी (कम्तिमा ५ बर्ष) लक्ष्य केहो, त्यो कसरी, कस्को सहभागिता र सहयोगमा, प्राथमिकताहरु के हुन् जस्ता बिषयहरु समेटी स्पष्ट रुपमा योजना बनाउने र बार्षिक रुपमा समिक्षा मार्फत सिकाईहरुलाई सम्बोधन गर्दै परिमार्जन गरेर अघि बढ्नु पर्ने हुन्छ ।यि र यस्तै अन्य नविनतम अभ्यासहरु सहित बिद्यालयमा सहभागिता, जवाफदेहिता, पारदर्शिता सुनिश्चित गरि शुसासन कायम गर्न सकिन्छ, यस्तो गर्न सकियो भने निश्चित रुपमा बिद्यालयमा गुणस्तरीय वातावरण निर्माण गरि बालबालिकाको सिकाई र सर्बोत्तम हितलाई सुनिश्चित गर्न सकिन्छ । यहि नै बिद्यालय नेतृत्व बाट सदैव अपेक्षा गरिन्छ ।
प्रभावकारी समन्वय, सहकार्य एवं सञ्चार : भनिन्छ धेरै जस्तो सम्बन्धमा असर पर्नुको कारण प्रभावकारी जानकारी आदानप्रदान नभईदिनाले हुने गर्छ चाहे त्यो ब्यक्तिगत होस् वा संस्थागत रुपमा । यहाँ प्रभावकारी सञ्चार बिद्यालयका गतिविधीहरुमा केन्द्रित छ । सहि माध्यम, सान्दर्भिक सूचना र समयमै हुन सकेन भने शंकाको घेरमा पर्छ जसले गर्दा बिद्यालयले समूदायको बिश्वास लिन समस्या पैदा गर्दछ । त्यसकारण विद्यालयको गतिविधिका बारेमा जानकारी आदाप्रदान गरि पारदर्शिताको उदाहरण पेश गर्न सके समूदायको बिश्वास जित्ने भई उनीहरुको सहभागिता बृद्धि गर्न सकिन्छ । सबैको सहभागिता हुन सक्यो भने त्यसले अझ बिद्यालयले राखेको लक्ष्य उद्धेश्य प्राप्त गर्ने कुरामा सहजता ल्याउछ । यहाँनेर समूदायको कुराहरुमात्रै नभई स्थानिय सरकार संग र अन्य सरोकारवालहरु संग प्रभावकारी सञ्चार गर्न सकियो भने त्यसले बिद्यालयका गतिविधिहरुमा स्थानिय सरकारको ध्यान तान्न सकिन्छ, फलस्वरुप स्रोत जुटाउन, समस्याहरु समयमै समाधान गर्न मद्धत पुग्दछ ।
प्रभावकारी सञ्चारले नै राम्रो समन्वयका र सहकार्यका लागी आधारका रुपमा काम गर्दछ ।त्यसकारण बिद्यालयले आफ्नो समूदायका ब्यक्तिहरुलाई के कस्ता सूचना कसरी आदानप्रदान गर्ने, स्थानिय सरकार र सरोकारवालाहरु संग के कस्ता बिद्यालय सम्बन्धी के कस्ता सूचना कसरी प्रभावकारी रुपमा गर्न सकिन्छ भनेर प्राथमिकताका साथ योजना तय गर्नु र कार्यान्वयन गर्ने आवश्यक छ । बिद्यालयको प्रभावकारी बार्षिक कार्यतालिकाको निर्माण, बिद्यार्थीहरुको सिकाई उपलब्धी र मनोसामाजिक सरोकारका बिषयहरु, शैक्षिक तथ्यांक भौतिक वातारण र बिभिन्न स्रोत सम्बन्धी एवं आर्थिक हिसाबकिताब सम्बन्धी बिषयहरु प्रमुख कुराहरु हुनसक्दछन् । प्रभावकारी सूचना समन्वयका लागी स्थानिय सरकारले पालिका स्तरमा डिजिटल प्लेट फर्महरुको विकास गरि बिद्यालय सम्बन्धि सूचना र समन्वय त्यस मार्फत गर्न सकियो भने यसले एकरुपता ल्याउने, पालिकाको शिक्षा शाखा र सम्पूर्ण बिद्यालयको एउटै मञ्च निर्माण हुने, सूचना आदनप्रदानमा छिटो र छरितो हुने भएकोले सथानिय सरकारले यस्ता मञ्चहरुको विकास गर्नु जरुरी देखिन्छ । स्थानिय सरकार बाट उपलब्ध हुने सेवा सुविधा, नीति, ऐन नियमावली, सन्र्दभ सामग्री, शिक्षक र सिकाई केन्द्रित सामग्रीहरु राख्न सकियो भने यसले सूचना आदान प्रदान गर्ने मात्रै नभई अनुभव, ज्ञान सपि आदानप्रदान गर्न सकिने भई सिकाई थलोको रुपमा पनि विकास र प्रयोग गर्न सकिन्छ ।
समग्रतामा बिद्यालयको नेतृत्वले शुसासनयुक्त ब्यवस्थापन मार्फत बालबालिकाको बिद्यालय छोड्ने, अनियमित हुने दर घटाउने वा हुनै नदिने र सिकाई उपलब्धीलाई बढाउने गरि कार्यसम्पादन गर्नुपर्दछ । बिद्यालयको समग्र सिकाई वातावरण बृद्धि गर्न ठोश योगदान गर्नुपर्दछ।यसका लागी बिद्यालयको स्पष्ट लक्ष्य सहित तत्कालिन र दिर्घकालिन योजना निमार्ण गर्ने, बिद्यालयमा शिक्षक, बिद्यार्थी, समूदाय र सरोकारवालाहरु बिच समधुर, सहयोगी, सम्मानपूर्ण र सहकार्ययुक्त संस्कारको विकास, शिक्षक पेशागत विकास र सहयोग, स्रोतहरुको समूचित प्रयोग र ब्यस्थापन, शैक्षिक तथ्यांकको ब्यवस्थापन तथा जानकारी, बिकेन्द्रित नेतृत्वको विकास र बिद्यार्थीको सिकाई प्रबद्र्धनका लागी जोड दिनु पर्दछ ।
प्रतिक्रिया