सल्यानमा लघुवित्तिय संस्थाहरु खारेजीको माग गर्दै विरोध प्रदर्शन

सल्यान : लघुवित्तिय संस्थाहरु खारेजीको माग गर्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले सल्यानमा विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गरेको छ ।
संघर्ष समितिले ५ बुँदे माग सहित जिल्ला प्रशासन कार्यालय सल्यानमा दुई घण्टा धर्ना दिनुका साथै सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरेको छ ।
संघर्ष समितिले लघु वित्त संस्थाहरुलाई नवसामन्तीको आरोप लगाउदै खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायतका माग गर्दै खलंगामा नाराबाजीसहित प्रदर्शन गरेका हुन ।
पीडितहरुले नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोधमा उत्रिएका थिए ।
लघुवित्तको आवरणमा अनुत्पादक क्षेत्रमा लगानी, वचतकर्ताको वचतको हिसाबकिताब नभएको, राष्ट्र बैंकको निर्देशिका भन्दा बाहिर गएर एउटै सदस्यलाई धेरै लघु वित्तले ऋण दिएर अनावश्यक ऋणको बोझ थोपरेकाले धर्ना तथा विरोध प्रदर्शन गरिएको लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज मानसिङ वि.क.ले बताए । सल्यानखबर
प्रतिक्रिया