अहिलेकै अवस्थामा कुनै पनि पार्टीसँग एकताको सम्भावना छैन : ज्लाला

अहिलेकै अवस्थामा कुनै पनि पार्टीसँग एकताको सम्भावना छैन : ज्लाला

फागुन : नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीसँग एकताको सम्भावना नभएको बताएका छन् । उनले संसदमा प्रतिनिधित्व गर्ने केही पार्टीसँग एकताको तयारी गरिएपनि तत्कालको लागि त्यो सम्भावना पनि नभएको बताएका हुन् । नेकपा (एकीकृत समाजवादी) सल्यानको जिल्ला कमिटी बैठकलाई मंगलवार खलंगामा सम्बोधन गर्दै ज्वालाले भन्नुभयो ‘माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग एकताको लागि थालिएको पहलले तत्काल सार्थकता पाउने सम्भावना छैन् ।’

तत्काल पार्टी एकता नभएपनि केही दलसँग मोर्चा वनाएर अघि बढ्न सकिने उनको भनाइ छ । एकीकृत समाजवादी र एमालेका बिचमा राष्ट्रपति निर्वाचनले केही दुरी घटेपनि बाहिर आशंका गरिएजस्तो एमालेसँग पनि एकता सम्भव नभएको उनले बताए । ‘हिजोका दिनमा पार्टी भित्रैको थिचोमिचो सहन नसकेर नयाँ पार्टी वनाएका हौँ, अब फेरि थिचोमिचो सहनका लागि तत्काल कुनै पनि पार्टीसँग एकता हुदैन्’ उनले भने ‘बरु निति विचार मिल्नेसँग मोर्चाबन्दी गरेर अघि बढ्छौँ ।

सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका ज्वालाले फुट र बिभाजनले कम्युनिस्ट आन्दोलनलाई घाटा भएकाले पार्टी एकता नभएपनि मोर्चाबन्दी गर्नुपर्ने बताए । गएको निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि निराश हुनुपर्ने अवस्था नरहेको र राष्ट्रपतिको निर्वाचनको मतभार हेर्दा चौथो शक्तिका रूपमा आफ्नो पार्टी रहेको उनको भनाइ छ ।

उनले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्नभन्दै नेकपा एमालेले ढिला गरेर पत्र पठाएको बताए । ‘हिजोसम्म हाम्रो पार्टीलाई पार्टी नै नठान्ने एमालेले राष्ट्रपतिको निर्वाचनमा मतभारको आधारमा चौथो शक्तिका रुपमा देखेर नै मत दिनभन्दै पत्र पठाएको हो, तर एमालेले ढिला गरेर पत्र पठायो, केही दिन पहिल्यै पत्र पठाएको भए परिस्थिती फरक हुन्थ्यो होला’ उनले भने ‘अहिले एमालेबाट राष्ट्रपति पदका उम्मेदवारलाई मत दिनसक्ने अवस्था छैन् ।’

उपमहासचिव ज्वालाले अहिलेकै गठबन्धन भत्काउन केहि शक्ति सक्रिय रहेको दावी गरे । पाँच बर्षसम्म अहिलेकै गठबन्धन कायम रहने दावी गरेका ज्वालाले आफ्नो पार्टी सरकारमा सहभागि हुने वा नहुने बारेमा भने केही खुलाएनन् । विगतका दिनमा जिल्लामा पार्टीलाई बलियो बनाउन धेरै दुःख गरेको बताउदैँ उहाँले उत्साह र उर्जाका साथ पार्टी र संगठन निर्माणमा जोडदिन नेताकार्यकर्तालाई निर्देशन दिए । -सल्यानटुडे

प्रतिक्रिया