सन्दीप लामिछाने क्रिकेट खेल्न उडे यूएई

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने आईसीसी लिग डिभिजन २ अन्तर्गत यूएईमा जारी त्रिदेशीय सिरिज खेल्न त्यसतर्फ उडेका छन् । यूएईमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत पपुवा न्यु गिनी र यूएई सम्मिलित सिरिजका लागि सन्दीप बुधबार दिउँसो त्यसतर्फ लागेका हुन् ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपलाई यूएई पठाउन आईसीसीसँग पत्राचार भइसकेको बताए। आईसीसीले सन्दीपलाई सिरिजमा सहभागी गराउन अनुमति दिएसँगै यूएई पठाइएको हो ।
सन्दीपलाई सोमबार सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसँगै क्यानले खेलाडी परिवर्तनका लागि प्रक्रिया सुरु गरेको थियो ।
सन्दीपलाई यूएई सिरिजमा पठाउन क्यानले सोमबार नै आइसीसीलाई पत्रचार गरेको थियो । सन्दीपलाई यूएई पठाउँदा क्यानले एक जना खेलाडीलाई नेपाल फिर्ता बोलाउने निर्णय लिएको छ। यूएईमा रहेका नेपाली टिमका श्याम ढकाल (मौसम) घाइते छन् ।
उनी नेटमा प्रशिक्षणका क्रममा घाइते भएका छन्। स्रोतका अनुसार ढकाल प्रशिक्षणका क्रममा काँधमा चोट लागेर घाइते भएका हुन् । सन्दीपले श्याम ढकालको स्थान लिने बताइएको छ। श्याम ढकालको स्थान लिएपछि सन्दीपले बिहीबार नै सम्भवतस् यूएईविरुद्धको खेलमा बलिङ गर्न सक्नेछन् ।
यसअघि सर्वोच्च अदातलतले विदेश भ्रमण गरेर फर्किएको १५ दिनभित्र सन्दीपले उपस्थित हुने गरि सर्वोच्चले सन्दीपलाई विदेश जान अनुमति दिएको थियो । सन्दीपलाई यूएई लगेर फर्काउने जिम्मा क्यानले नै लिने सचिव पाठकले बताएका छन् । सन्दीप हाम्रो खेलाडी हो, हाम्रो खेलाडीको जिम्मा हामी लिन्छौँ, उनले भने ।
सन्दीपलाई अमेरिकाबाट क्यानले नै फर्काएको भन्दै सचिव पाठकले उनको भाग्ने कुनै मनसाय नरहेको पनि बताए ।
प्रतिक्रिया